
काठमाडौँ। आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हामी तीन भाइ’ का लागि तयार गरिएको नयाँ गीत ‘झम्के फुली’ को छायांकन सम्पन्न भएको छ।
भक्तपुरको गुण्डु क्षेत्रमा ‘झम्के फुली नाकको फुली, कानमा झुम्का लाउ है ठुली…’ बोलको गीतको छायांकन गरिएको निर्माण पक्षले जनाएको छ। ग्रामीण परिवेश र स्थानीय स्वाद झल्किने शैलीमा तयार गरिएको यस गीतलाई रंगीन र जीवन्त बनाउन गुण्डुका विभिन्न स्थानमा दृश्य कैद गरिएको हो।
प्रसिद्धी सिने आर्ट्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका लागि तयार गरिएको यस गीतमा साप शक्ति र अस्मिता अधिकारीको स्वर रहेको छ। गीतका शब्द सुवल मणि सापकोटाले लेखेका हुन् भने संगीत पनि साप शक्तिकै रहेको छ। गीतको रेकर्डिङ अनामनगरस्थित ए प्लस स्टुडियोमा गरिएको हो। संगीत संयोजन (एरेन्ज) महाराज थापाले गरेका छन्।
निर्देशक मधुसुधन भट्टराईको निर्देशनमा तयार भइरहेको फिल्म हामी तीन भाइ कमेडी तथा सामाजिक कथामा आधारित छ। फिल्ममा विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा छन्। उनीहरूले गाउँका घनिष्ठ तीन साथीको भूमिकामा अभिनय गरेका छन्।
त्यस्तै फिल्ममा लक्ष्मी बर्देवा, राजाराम पौडेल र रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय रहनेछ। प्रसिद्धी सिने आर्ट्सको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुन्।


