
काठमाडौं । निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टोलीले मंगलबारदेखि धनकुटाबाट फिल्मको सुटिङ थालेको हो।
छायांकनमा अभिनेता जितु नेपाल, प्रियना आचार्य, सुशील पोखरेल, बिरेन्द्र सिंह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकार सहभागी भएका छन्।
निर्देशक बस्नेतका अनुसार करिब एक महिनाको कार्यतालिकामा फिल्मको छायांकन गरिनेछ। फिल्मका दृश्यहरू धनकुटा, बराहक्षेत्र र चतराका विभिन्न स्थानमा खिचिनेछन्।
फिल्ममा अभिनेता जितु नेपालको जोडीका रूपमा प्रियना आचार्य देखिनेछिन्। यसअघि प्रियना आचार्यले ‘झरीपछिको इन्द्रेणी’ मा अभिनय गरेकी थिइन् भने सक्किगोनी टेलिशृंखलाबाट चर्चामा आएकी हुन्। प्रियना र जितुको यो पहिलो सहकार्य हो।
कर्णबहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता बालकुमार राई हुन् भने कृष्ण भगत चाम्लिङको प्रस्तुति रहनेछ। मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन् भने छायांकन डम्बर राईले गर्नेछन्। फिल्मको द्वन्द्व निर्देशन किरण दाहालको रहनेछ भने संगीत दिप्सन लिम्बुले तयार पार्नेछन्। प्रोडक्सन व्यवस्थापन सीबी भण्डारीले सम्हाल्नेछन्।

