फ्रेन्ड्स सिनेमाजको इलाम शाखा सञ्चालनमा




काठमाडौं ।
पूर्वको रमणीय जिल्ला इलाममा आधुनिक सिनेमा हलको अभाव अन्त्य गर्दै फ्रेन्ड्स सिनेमाजले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। धरान र बुटवलमा सफल सञ्चालनपछि चेनको तेस्रो आउटलेटका रूपमा इलाम नगरपालिका–७ मा हल सुरु गरिएको हो।

शुक्रबार आयोजित उद्घाटन समारोह विशेष आकर्षणको केन्द्र बन्यो। कार्यक्रममा अभिनेता पल शाह, अभिनेत्री उषा उप्रेती तथा द्वन्द्व निर्देशक एवं निर्माता चन्द्र पन्तको उपस्थिति रहेको थियो। आफ्ना मनपर्ने कलाकारलाई नजिकबाट भेट्न पाउँदा स्थानीय दर्शक उत्साहित देखिन्थे। हल परिसर दर्शकको बाक्लो उपस्थितिले उत्सवमय बनेको थियो।

करिब ३ करोड ५० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको यस हलमा १८८ सिट क्षमता रहेको छ। नगरपालिकाको बहुतले पार्किङ भवनमा सञ्चालनमा आएको हलमा अत्याधुनिक ‘टुके प्रोजेक्सन’ र ‘डल्बी डिजिटल साउन्ड सिस्टम’ जडान गरिएको छ। यसले राजधानीका मल्टिप्लेक्ससरह ध्वनि र दृश्य अनुभव दिने सञ्चालकहरूको दाबी छ।

फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले मोफसलका दर्शकलाई राजधानीस्तरको सुविधा उपलब्ध गराउने लक्ष्य रहेको बताए। “अब इलामका दर्शकले गुणस्तरीय फिल्म हेर्नका लागि अन्य सहर धाउनुपर्ने बाध्यता रहने छैन,” उनले उल्लेख गरे।

सञ्चालकहरू प्रदीप धामी, पुष्कर घिमिरे र आशिष एच तामाङका अनुसार पारिवारिक वातावरण, आरामदायी सिट र आधुनिक प्रविधिलाई प्राथमिकता दिँदै हल सञ्चालनमा ल्याइएको हो। निर्देशक आशिष एच तामाङले नेपाली चलचित्रको बजार विस्तारका लागि जिल्ला–जिल्लामा साना तर सुविधासम्पन्न हल आवश्यक रहेको धारणा राखे। उनका अनुसार घरेलु बजार सुदृढ बनाउन मोफसलमै पूर्वाधार विस्तार अपरिहार्य छ।

इलाममा स्तरीय सिनेमा हल नहुँदा नयाँ चलचित्र प्रदर्शनमा ढिलाइ हुने अवस्था थियो। अब भने देशभर रिलिज भएकै दिन नयाँ नेपाली फिल्म इलाममा पनि प्रदर्शन हुनेछन्। यसले स्थानीय बासिन्दासँगै पर्यटकलाई समेत मनोरञ्जनको नयाँ विकल्प उपलब्ध गराएको छ।

फ्रेन्ड्स सिनेमाजले आगामी दिनमा अन्य सहरहरूमा पनि आफ्नो चेन विस्तार गर्ने योजना अघि बढाएको जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.