
काठमाडौं। फागुन १ गते शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘कमला मिस’ को यतिबेला राजधानीमा धमाधम छायांकन चलिरहेको छ। ‘कमला मिस’ मार्फत निर शाह एक दशकपछि पुनः निर्देशनमा फर्किएका हुन्।
ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा विजय मल्ल स्मृति प्रतिष्ठान, मल्ल परिवार तथा चलचित्र युनिटले नाट्यश्वरी पूजा गरी चलचित्रको सफलताको कामना गरेका छन्। चलचित्र ‘कमला मिस’ को शुभारम्भसँगै गरिएको उक्त पूजाले छायांकन सफल र बाधारहित रूपमा अघि बढोस् भन्ने उद्देश्य राखिएको निर्माण टिमले जनाएको छ। विशेषगरी चलचित्र, नाटक वा सांस्कृतिक कार्यक्रम सुरु गर्नु अघि सफलता, समृद्धि र अवरोधमुक्त यात्राको कामना गर्न यस्तो पूजा गर्ने चलन रहेको छ।
मनोवैज्ञानिक विषयवस्तुमा आधारित यस चलचित्रमा बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ र जयन्त रेग्मी मुख्य भूमिकामा देखिनेछन् भने रमेश बुढाथोकी पनि महत्वपूर्ण भूमिकामा रहनेछन्।
चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भइरहेको हो। कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन्। छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी तथा मुख्य सहायक निर्देशन सगर बोहराले सम्हालिरहेका छन्। पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
निर शाह नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि अभिनय, निर्माण तथा निर्देशनमा सक्रिय व्यक्तित्व हुन्। उनले यसअघि वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका छन्।

