आर्यन, अनुप, र केकीले गरे पाँचौँ ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’ को उद्घाटन


काठमाडौँ। अभिनेता आर्यन सिग्देल, अनुप विक्रम शाही र अभिनेत्री केकी अधिकारीको उपस्थितिमा ‘लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियो’को पाँचौँ शाखा उद्घाटन गरिएको छ। ललितपुरको भैँसेपाटीस्थित नयाँ आउटलेट बिहीबार विशेष समारोहबीच औपचारिक रूपमा शुभारम्भ गरिएको हो।

उद्घाटन कार्यक्रममा कलाकारत्रयले संयुक्त रूपमा रिबन काट्दै स्टुडियो सञ्चालनको घोषणा गरेका थिए। कार्यक्रममा चलचित्र पत्रकार, सौन्दर्यकर्मी तथा स्थानीय व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सो अवसरमा अभिनेता अनुप विक्रम शाहीलाई बलिउड फिल्म ‘ब्याटल अफ गलवान’ को बाँकी छायांकनका लागि मुम्बई प्रस्थान गर्नुपर्ने भएकाले कलाकारहरूले फूलगुच्छासहित शुभकामना दिँदै बिदाइ गरेका थिए। अनुपले स्टुडियोसँग आफ्नो लामो सम्बन्ध रहेको उल्लेख गर्दै नयाँ शाखा खुलेसँगै सेवा लिन अझ सहज भएको बताए।

अभिनेता आर्यन सिग्देलले पनि स्टुडियोका विभिन्न शाखाबाट नियमित सेवा लिँदै आएको जानकारी दिँदै लक्ष्मी ठाकुरसँग करिब १५ वर्षदेखिको सहकार्य रहेको बताए। “हेयर स्टाइल मात्र होइन, निरन्तर परामर्शसमेत लिँदै आएको छु,” उनले भने।

अभिनेत्री केकी अधिकारीले नेपाली चलचित्र क्षेत्रमा हेयर स्टाइलको विकासमा लक्ष्मी ठाकुरको योगदान उल्लेखनीय रहेको बताइन्। “चलचित्रको चरित्र निर्माणमा हेयर स्टाइलको ठूलो भूमिका हुन्छ,” उनले भनिन्।

स्टुडियोका अध्यक्ष तथा हेयर स्टाइलिस्ट लक्ष्मी ठाकुरले दुई दशकअघि मुम्बईमा हेयर ड्रेसरका रूपमा काम गर्दा आफ्नै सलुन खोल्ने सपना देखेको स्मरण गरे। पारिवारिक आग्रहपछि नेपाल फर्केर काठमाडौंमै स्टुडियो सञ्चालन थालेको बताउँदै उनले नेपाली चलचित्र क्षेत्रमा सेलिब्रेटी हेयर डिजाइनलाई व्यावसायिक रूप दिएको उल्लेख गरे।

भैँसेपाटी क्षेत्रमा बढ्दो सहरीकरणसँगै गुणस्तरीय सौन्दर्य सेवाको माग बढेकाले नयाँ शाखा सञ्चालन गरिएको उनको भनाइ छ। हाल विभिन्न स्थानमा शाखा विस्तार गरिसकेको स्टुडियोले निकट भविष्यमा टंगाल र भाटभटेनी क्षेत्रमा पनि नयाँ आउटलेट सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। उद्घाटनको अवसरमा नयाँ शाखामा उपलब्ध सेवामा विशेष छुटको व्यवस्था गरिएको जानकारी दिइएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.