
काठमाडौं । फागुन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बिगुल’ ले नेपाल जेसिससँग सहकार्यको घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत फिल्म टिमले यो सहकार्यबारे जानकारी गराएको हो । सम्मेलनमा ‘बिगुल’ का निर्माता दिनेश कोइराला र नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष जीवन कार्कीबीच औपचारिक सम्झौतामा हस्ताक्षरसमेत गरिएको थियो ।
केही समयअघि सम्पन्न मोफसल प्रचार–प्रसार अभियानमा नेपाल जेसिसको सक्रिय सहयोगले आफूहरूलाई थप हौसला मिलेको निर्माता कोइरालाले बताए । ‘बिगुल’ का कथाकारसमेत रहेका कोइराला नेपाल जेसिसका पूर्व अध्यक्ष पनि हुन् । उनले देश, समाज र जनताको पक्षमा सन्देश बोकेको मनोरञ्जनात्मक फिल्म निर्माण गरिएको उल्लेख गर्दै सबै क्षेत्रबाट सहयोगको अपेक्षा व्यक्त गरे ।
नेपाल जेसिसका अध्यक्ष जीवन कार्कीले वर्तमान नेपाली समाज, परिवार, राजनीति र युवाको यथार्थ कथामा आधारित ‘बिगुल’ जस्तो चलचित्रलाई सबै वर्ग र समुदायसम्म पुर्याउनु आवश्यक भएकाले सहकार्य गरिएको स्पष्ट पारे । उनले फिल्मको सफलताको कामना गर्दै मौलिक विषयवस्तुमा आधारित सिनेमा निर्माणलाई निरन्तर प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।
निर्देशक रमेश कोइरालाले ‘बिगुल’ भुइँमान्छेको कथा बोकेको चलचित्र भएको बताउँदै यो वर्तमान राजनीतिक परिवेशसँग निकै नजिक रहेको उल्लेख गरे । उनका अनुसार फिल्मले मनोरञ्जनसँगै देश र माटोप्रतिको प्रेमलाई अझ बलियो बनाउने सन्देश दिन्छ ।
वरिष्ठ अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो समसामयिक यथार्थ कथामा आधारित फिल्म कमै बन्ने गरेको उल्लेख गर्दै यसमा अभिनय गर्न पाउनु गर्वको विषय भएको बताए । यस्ता विषयका फिल्म अझ बढी बन्नुपर्नेमा उनले जोड दिए ।
अभिनेत्री बेनीशा हमालले फिल्ममा आफूले चुनौतीपूर्ण भूमिका निर्वाह गरेको बताउँदै ‘बिगुल’ अन्य फिल्मभन्दा फरक र देशप्रेमले भरिएको चलचित्र भएको धारणा राखिन् । अभिनेता नरेन खड्काले फिल्ममा आफू युवाशक्तिको प्रतिनिधि पात्रको रूपमा देखिएको खुलाउँदै सचेत र जागरुक दर्शकले फिल्म मन पराउने विश्वास व्यक्त गरे ।
निर्माता कोइरालाका अनुसार ‘बिगुल’ ले नेपाली समाजका दबिएका आवाज, अन्याय सहेर बाँचिरहेका भुइँमान्छे, भविष्यप्रति चिन्तित युवा पुस्ता र संघर्षशील महिलाको चेतनालाई कथा मार्फत प्रस्तुत गर्छ । मोफसल यात्रामा दर्शक र नेपाल जेसिसबाट पाएको माया स्मरण गर्दै उनले फिल्मले युवा नेतृत्वमा समृद्ध नेपालको परिकल्पना अघि सारेको बताए ।
म्याग्नेलिया ग्रुपको ब्यानरमा कल्पना पौडेल प्रस्तुतकर्ता रहेको ‘बिगुल’ मा बेनीशा हमाल, नरेन खड्का, नीर शाह, सरोज खनाल, शिशिर वाङ्देल, रबिन्द्र खड्का, बिनोद न्यौपाने, गीता अधिकारी, जेएन घिमिरे, मानसी शर्मा तथा नव अभिनेत्री मीरा पण्डितलगायतको अभिनय रहेको छ ।
प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्मको छायांकन शिव ढकालले गरेका हुन् । संगीत अर्जुन पोखरेल, विश्वप्रकाश शर्मा र मनोज चौलागाईंको रहेको छ भने कोरियोग्राफी कमल राई र कविराज गहतराजको छ । तारा थापा किम्भेले सम्पादन गरेको फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन रहेको छ ।

