
काठमाडौँ । यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ। सोमबार केन्द्रीय चलचित्र जाँच पास समितिबाट सेन्सर पास भएसँगै अब यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन्।
सेन्सर पासपछि निर्देशक चन्द्र पन्तले खुशी व्यक्त गर्दै ‘आ बाट आमा’ पारिवारिक दर्शकलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्म भएको बताए। उनले भने, “फिल्मको नामले नै यसको भाव बोकेको छ। आमासँग जोडिएको कथा भएकाले सबै उमेरका दर्शकले आफूलाई यसमा पाउने विश्वास छ।”
फिल्मको प्रचारप्रसारका लागि अभिनेत्री विपना थापा र अभिनेता प्रदीप रावत भारतबाट नेपाल आइपुगेका छन्। उनीहरू दर्शकमाझ फिल्मको सन्देश पुर्याउन सक्रिय देखिएका छन्। नेपालमै रहेका अभिनेता पल शाह, उषा उप्रेती र सिमरन पन्त पनि प्रचार अभियानमा उत्तिकै सक्रिय छन्।
फिल्ममा समावेश गीत ‘लैजा खबर ए हावा’ यतिबेला दर्शकमाझ निकै रुचाइएको छ र सामाजिक सञ्जालमा पनि चर्चामा छ। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको ‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिमरन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। गीतका भिडियोमा गंभीर बिष्ट र दिलिप ओखेडाको कोरियोग्राफी रहेको छ। संवाद अभिमन्यू निरवीले लेखेका हुन् भने छायांकन नवराज उप्रेतीले गरेका छन्।
फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। कार्यकारी निर्माता करण सिंह रसाली हुन्। सम्पादन मिलन श्रेष्ठले गरेका छन् भने ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।

