
काठमाडौँ। डेब्यु निर्देशक सुदिप्ताको निर्देशनमा बनेको सिनेमा ‘रमिताको पिरती’ को ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रेम, अपेक्षा र धोका बोकेको कथालाई ट्रेलरमार्फत दर्शकमाझ प्रस्तुत गरिएको हो। सार्वजनिक ट्रेलरले ब्रेकअपपछिको भावनात्मक द्वन्द्वलाई केन्द्रमा राख्दै दर्शकमा उत्सुकता जगाएको छ।
निर्देशक सुदिप्ताका अनुसार ‘रमिताको पिरती’ परम्परागत लभस्टोरीभन्दा फरक, ब्रेकअपपछिको कथामा केन्द्रित सिनेमा हो। नेपाली सिनेमामा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेमकथा देखाइँदै आएको उल्लेख गर्दै उनले यस पटक महिलाको मनोविज्ञान र अनुभूतिलाई प्राथमिकतामा राखिएको बताइन्। ब्रेकअपपछि एउटी युवतीको सोच, पीडा र संघर्षलाई फरक ढंगले पर्दामा उतारिएको उनको भनाइ छ।
मुख्य भूमिकामा रहेकी अभिनेत्री आना शर्माले यो कथाले आफुलाई गहिरो रुपमा छोएको बताउँदै पात्रलाई जीवन्त बनाउन निर्देशकसँग करिब छ महिनासम्म निरन्तर छलफल र तयारी गरेको बताइन्। त्यस्तै अभिनेता धिरज मगरले आफू पछिल्लो समय हिरो–केन्द्रित कथाभन्दा महिला पात्रको दृष्टिकोणबाट भनिने कथामा आकर्षित भएको उल्लेख गर्दै ‘रमिताको पिरती’ पनि त्यही धारको सिनेमा भएको बताए। यस सिनेमाले दर्शकलाई आफूलाई फरक अवतारमा देख्ने अवसर दिने उनको विश्वास छ।
आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको कथाको केन्द्रमा रमिता (आना शर्मा) रहेकी छन्। ब्रेकअप स्टोरीमा आधारित यस सिनेमाले दर्शकलाई नयाँ स्वाद दिने निर्देशक सुदिप्ताको दाबी छ। यही सिनेमाबाट गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।
सेरो फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा आना शर्मा, समीर श्रेष्ठ र धिरज मगरसँगै विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, र थिन्ले लामा लगायत कलाकारको अभिनय रहेको छ। सन्तोष लम्साल कार्यकारी निर्माता रहेको सिनेमामा सागर लम्साल निर्माता, सुवास कोइराला सह–निर्माता तथा आरपी प्रोडक्सन एसोसिएट निर्माता रहेका छन्।
शिशिर विशंखेले छायांकन गरेको सिनेमाको सम्पादन सुनिल शिवभक्तिले गरेका छन् भने कपिल पराजुलीको कलर र कृतिका बरालको कोरियोग्राफी रहेको छ। काठमाडौं उपत्यकामा सिनेमा रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

