‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न


काठमाडौं । सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माणाधीन चलचित्र ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सफलतापूर्वक सम्पन्न भएको छ।
हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना लगाएर चलचित्रको मुख्य भाग खिचिएको हो। दुई साताको कलाकार तथा प्राविधिक ‘वर्कसप’पछि गत मंसिर १५ गतेदेखि सुरु भएको छायांकन तालिका ४५ दिनको तय गरिएको थियो। प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद ४२ दिनमै म्याग्दीको सम्पूर्ण सेड्युल सकिएको निर्माता विनोद पौडेलले जानकारी दिए।

म्याग्दीको अत्यधिक चिसो मौसमले छायांकन टोलीलाई उल्लेख्य चुनौती दिएको पौडेलको भनाइ छ। उनी भन्छन्, “४५ दिनको तालिका लिएर निस्किएका थियौं, ४२ दिनमै म्याग्दीको काम सक्यौं। कलाकारभन्दा बढी प्राविधिक टोलीलाई चिसोले सास्ती दियो। विशेषगरी रात्रिकालीन दृश्य खिच्दा राति १० बजेदेखि तापक्रम अत्यधिक घट्ने भएकाले काम गर्न निकै कठिन हुन्थ्यो।”

उनले थपे, “चलचित्रलाई उत्कृष्ट बनाउन कुनै सम्झौता गरिएन। केही दिन विश्रामपछि बाँकी छायांकन सुरु गर्नेछौं।” निर्माण टिमका अनुसार केही दिनको आरामपछि काठमाडौँमा बाँकी दृश्यहरूको छायांकन चाँडै सुरु हुनेछ। जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित चलचित्र हो। विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताले पार्ने प्रभाव वरिपरि यसको कथा घुम्ने संकेत गरिएको छ।

चलचित्रमा मुकुन भुसाल, सशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी मुख्य भूमिकामा रहेका छन्। बाल शिक्षा र मनोविज्ञानजस्तो गम्भीर विषयलाई व्यावसायिक सिनेमाको ढाँचामा प्रस्तुत गर्न लागिएको ‘रोल नं. १’ लाई अर्थपूर्ण र सन्देशमूलक चलचित्रका रूपमा हेरिएको छ। चलचित्रको प्रदर्शन मिति भने छायांकन र पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सम्पन्न भएपछि मात्र सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2026 | All Right Reserved.