
काठमाडौँ। नेपाली छोटो फिल्म ‘निलो आकाश’ ले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सिनेमाको सशक्त उपस्थिति दर्ज गर्दै भारतको जयपुरमा सम्पन्न अमोदनी इन्टरनेशनल फिल्म फेस्टिभल २०२५ मा ‘बेस्ट फरेन सर्ट फिल्म’ विधाअन्तर्गत उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।
यसअघि पनि ‘निलो आकाश’ अमेरिका स्थित शिकागो साउथ एसियन फिल्म फेस्टिभल, शिकागो लगायत विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा आधिकारिक छनोटमा परेर प्रदर्शन भइसकेको छ। ती महोत्सवहरूमा फिल्मले दर्शक तथा समीक्षकको उल्लेखनीय ध्यान आकर्षित गर्न सफल भएको थियो।
डिसेम्बर १९ देखि २१ सम्म सञ्चालन भएको अमोदनी इन्टरनेशनल फिल्म फेस्टिभलमा भारतीय चर्चित कलाकारहरू नेहा शर्मा, चित्राङ्गदा सिंह, अभिनेत्री जया सेनगुप्ता तथा दक्षिण भारतीय सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
अवार्ड समारोहमा निर्देशक निर्मल पौडेल व्यक्तिगत रूपमा उपस्थित हुन नसके पनि, फिल्मका छायाङ्कन निर्देशक दिपाङ्कर सिक्देर ले ‘निलो आकाश’को तर्फबाट उक्त अवार्ड ग्रहण गरेका थिए।
अवार्ड प्राप्त गरेपछि निर्देशक निर्मल पौडेलले प्रतिक्रिया दिँदै भने, “यो सम्मानले अत्यन्तै खुशी बनाएको छ। यसले आगामी दिनमा अझ स्तरीय र अर्थपूर्ण प्रोजेक्टहरूमा काम गर्ने हौसला मिलेको छ।” साथै, उनले फिल्मको सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै सफलताको श्रेय सबैलाई जाने बताएका छन्।
‘निलो आकाश’मा मुख्य भूमिकामा पूर्व मिस नेपाल निकिता चन्दकको सशक्त अभिनय रहेको छ। हाल बलिउडमा अभिनय यात्रामा सक्रिय निकिता चन्दकको भूमिकाले फिल्मलाई अन्तर्राष्ट्रिय दर्शकमाझ अझ प्रभावशाली बनाएको छ।
अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यस उपलब्धिले नेपाली छोटो फिल्मको क्षमता र सम्भावनालाई पुनः एकपटक उजागर गर्दै नेपाली सिने उद्योगका लागि सकारात्मक सन्देश दिएको छ।

