‘मेरीबास्सै’मा घिरौलेको पुनरागमन, पुरानै घर र भूमिकासहित फर्किए लेखराज भुसाल


काठमाडौं । नेपाली टेलिसिरियल ‘मेरीबास्सै’का लोकप्रिय पात्र घिरौले पुनः मेरी बास्सै मार्फत दर्शकमाझ फर्किएका छन्। २०७० साल असार १५ गते ‘हर्के हल्वदार’का कलाकार राजेन्द्र गिरी ‘गुन्द्रुक सादेर’ ले भुषाललाई बुम म्यानको रूपमा ‘मेरीबास्सै’ मा ४१२ भाग देखि प्रवेश गराएका थिए। लेखराज भुसाल (घिरौले) ले विभिन्न कारणले ८०५ औँ भागपछि श्रृंखला छोडेका थिए। लामो अन्तरालपछि उनी अब ९३९ औँ भागदेखि घिरौलेकै पुरानै भूमिकामा पुनरागमन गरेका हुन्।

दमन रुपाखेतीको निर्देशनमा घिरौले पुरानै घरको सेटअपमा कलाकार तथा श्रृंखला निर्देशनको महत्वपूर्ण जिम्मेवारी समेत सम्हाल्दै ‘मेरीबास्सै’मा जोडिएका छन्। मिडिया हबले सबै कलाकारको पीडा–मर्का बुझेर आफूलाई पुनः श्रृंखलामा फर्काएको घिरौलेले बताए।

अग्रज कलाकारहरूसँग पुनः अभिनय गर्न पाउँदा निकै खुशी लागेको बताउँदै उनले ‘मेरीबास्सै’ आफ्नो कलाकारिता यात्राको महत्वपूर्ण हिस्सा भएको उल्लेख गरे। सानैदेखि हास्य कलाकार बन्ने सपना बोकेका भुसालका लागि यो पुनरागमन विशेष अर्थपूर्ण रहेको उनको भनाइ छ।

‘मेरीबास्सै’मा कलाकार रामचन्द्र अधिकारी, सुरबिर पण्डित, दमन रुपाखेती, सुरेन्द्र केसी, पल्पसा डङ्गोल, दिवाकर भण्डारी, साया भण्डारी,यादव थापा र लेखान्त भुसालको अभिनय रहेको छ। श्रृंखलाको लेखन दिवाकर भण्डारीले गरिरहेका छन् भने सम्पादनमा रबिन भट्ट र अशोक चौधरी, छायांकनमा विशाल परियार संलग्न छन्। व्यवस्थापन नवीन रेग्मीले सम्हालेका छन्।

मिडिया हबको ब्यानरमा निर्माण भइरहेको ‘मेरीबास्सै’ घिरौलेको पुनरागमनसँगै रोचक बन्ने अपेक्षा गरिएको छ।

Copyright © 2012 - 2026 | All Right Reserved.