
काठमाडौँ। नेपाल चलचित्र निर्माता संघको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित नयाँ पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले औपचारिक रूपमा स्वागत तथा बधाई दिएको छ। आइतबार बोर्डको कार्यकक्षमा आयोजित कार्यक्रममा बोर्ड अध्यक्ष दिनेश डिसीले संघको नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गरेका हुन्।
कार्यक्रममा अध्यक्ष डिसीले निर्माता संघका नवनिर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको कामना गर्दै चलचित्र क्षेत्रको दीर्घकालीन विकासका लागि आपसी सहकार्य अपरिहार्य रहेको बताए। उनले चलचित्र विकास बोर्ड निर्माता संघसँग हातेमालो गर्दै उद्योगको संस्थागत सुदृढीकरण, उत्पादन तथा वितरण प्रणालीमा सुधार, साथै पेशागत मर्यादा र पारदर्शिता कायम गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाए।
स्वागत कार्यक्रममा निर्माता संघका अध्यक्ष उदय सुब्बा, उपाध्यक्ष रौनक विक्रम कँडेल, सचिव युवराज गिरी तथा कार्यसमिति सदस्यहरू श्रीधर पौडेल, टंकबहादुर बुढाथोकी, तारादेवी लिम्बु, मनोजकुमार अधिकारी, घनेन्द्र थपलिया, राजकुमार पण्डित र प्रविण कार्कीको उपस्थिति रहेको थियो।
अध्यक्ष डिसीले चलचित्र विकास बोर्ड र निर्माता संघबीचको सहकार्यले नीतिगत सुधार, पूर्वाधार विस्तार, जनशक्ति तालिम तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। नयाँ नेतृत्वसँगको समन्वयमा उद्योगमैत्री वातावरण निर्माण गर्दै नेपाली चलचित्रलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत थप उचाइमा पुर्याउने लक्ष्यका साथ बोर्ड अघि बढ्ने उनले बताए।


