
काठमाडौं । हास्य कलाकार सन्दिप क्षेत्रीले जीवनका गहिरा पीडासमेत हाँसोले ओढ्दा तिनका कथाहरू झन् मिठा बन्ने बताएका छन्। किताब यात्रा फाउण्डेशनको आयोजनामा नेपाल पुलिस क्लबमा सम्पन्न किताब जात्राको दोस्रो दिन शुक्रबार बोल्दै उनले हास्य कलाकारले कुनै पनि हालतमा आफ्नो मूल धर्म मानिसलाई हसाउने कला नबिर्सनु पर्ने धारणा राखे।
‘हाँस्ने क्षमता केवल मानिससँग छ। यही क्षमताले मानिस हुनुको अर्थ प्रमाणित गर्छ,’ उनले भने, ‘हामी हास्य कलाकारलाई देख्नेबित्तिकै दर्शकको अनुहारमा मुस्कान आउँछ। उनीहरूले हामीलाई सधैं हाँसोको रंगले मात्रै हेर्छन्।’
पहिले आफूलाई केवल हाँसोको चस्माबाट मात्र हेरिँदा असहज लाग्ने गरेको स्मरण गर्दै क्षेत्रीले अहिले भने त्यसलाई आत्मसात् गर्न सिकेको बताए। जीवनको एउटा गहिरो घटनाले आफ्नो सोच नै बदलिदिएको अनुभव पनि उनले साझा गरे।
‘श्रीमती गम्भीर बिरामी भएर अस्पतालमा हुँदा मभित्र असह्य पीडा थियो,’ उनले भने, ‘तर मलाई देख्नेहरू हाँस्दै अभिवादन गर्थे। मेरो पीडा कसैले देखेन।’ यस्तै अर्को स्मरणीय क्षण सुनाउँदै उनले भने, ‘पाटन अस्पतालमा ठूलो बुबालाई भेट्न जाँदै गर्दा स्ट्रेचरमा रहेकी एक बिरामी महिलाले स्लाइन चढाइएकै अवस्थामा मुस्कुराउँदै “सन्दिप दाइ” भन्नुभयो। त्यो क्षणले मलाई भित्रैदेखि छोयो। त्यतिबेला महसुस गरेँ—हास्य कलाकारलाई देख्दा पीडामा रहेका मानिस पनि मुस्कुराउन सक्छन्।’
त्यही अनुभूतिले आफूलाई ‘साँचो अर्थमा मानिस’ बनाएको र हास्य कलाकार हुनुमा गर्व गर्न सिकाएको उनले बताए। व्यक्तिगत जीवनका दुःखभन्दा पनि आफ्नो कलाबाट दर्शक प्रभावित हुने भएकाले उनीहरूलाई निरन्तर हसाइ राख्नु नै आफ्नो पेशागत धर्म भएको उनको भनाइ छ।
‘अब म हरेक प्रश्नको उत्तर हाँसोबाटै दिन खोज्छु,’ उनले भने, ‘आफू हाँसिराख्न र अरूलाई हसाइराख्न मनलाई पनि हाँसिराख्ने अभ्यास गर्नुपर्छ।’ कार्यक्रमको सहजीकरण सञ्जोग कोइरालाले गरेका थिए।


