कुमार न्यौपानेको ‘लोकन्ती’ मार्फत फिचर फिल्ममा डेब्यु



काठमाडौं। अभिनेता कुमार न्यौपाने आगामी शुक्रबार, मंसिर २६ गते प्रदर्शनमा आउन लागेको फिचर फिल्म ‘लोकन्ती’ मार्फत ठूलो पर्दामा डेब्यु गर्दैछन्। दाङमा जन्मिएर उतै हुर्किएका न्यौपाने सानैदेखि अभिनयतर्फ आकर्षित थिए। स्कुले जीवनमै विभिन्न सडक नाटकमार्फत अभिनय यात्राको सुरुवात गरेका उनले एक समूह बनाएर नियमित रूपमा प्रस्तुति दिँदै आएका थिए।

बिशेषगरी कमेडी अभिनयमा रुचि राख्ने न्यौपानेका लागि ‘लोकन्ती’ पहिलो पटक ठूलो पर्दामा देखिने सपना पूरा गर्ने महत्वपूर्ण अवसर बनेको छ। अहिले उनी फिल्मको प्रचार–प्रसारमा सक्रिय छन्। आफ्नो अनुभव सुनाउँदै उनले भने, “सिनेमा बनाउनेभन्दा चलाउन धेरै गाह्रो रहेछ।” अभिनयसँगै चलचित्र निर्माणको अध्ययन गर्दै आएका उनले सिकेका केहि कुरा दर्शक सम्म पुर्याउने उद्देश्यले यो प्रोजेक्टमा काम गरेको बताए। फिल्ममा अभिनेता यसराज गराच,अभिनेत्री ऋचा थापासहितका सहकर्मीहरूसँग मिलेर काम गर्दा धेरै सिक्ने मौका पाएको उनी बताउँछन्।

न्यौपानेका अनुसार चलचित्र पूरा हुन साथी तथा सहकर्मी विकाश अधिकारीको सहयोग महत्वपूर्ण रह्यो। उनले आगामी दिनमा पनि निरन्तर अभिनयमा लाग्ने र परिस्थितिले साथ दिए निर्देशनमा हात हाल्ने लक्ष्य रहेको बताए।

चलचित्र ‘लोकन्ती’ दुई परिवारको उतार–चढाव, समाजका चलनचल्तीका समस्या र हराउँदै गइरहेको लोकन्ती परम्पराको पृष्ठभूमिमा बनेको छ। यो परम्पराबारे धेरैले नाम भने सुने पनि वास्तविक अर्थ र सांस्कृतिक गहिराइबारे अझै अनभिज्ञ रहेको उल्लेख गर्दै न्यौपानेले फिल्मले नयाँ पुस्तालाई यसको महत्व बुझाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।

काजी लिम्बुको लेखन रंजित रानाको निर्देशन रहेको फिल्ममा कुमार न्यौपानेसँगै यसराज गराच, ऋचा थापा, विमला लिम्बु, विकाश अधिकारी, दमन रुपाखेती, गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।

मंसिर २६ गतेबाट सर्वत्र प्रदर्शनमा आउँदै गरेको ‘लोकन्ती’ले नयाँ अनुहार न्यौपानेलाई कत्तिको उचाइमा पुर्‍याउँछ भन्ने उत्सुकता दर्शकमा बढ्दै गएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.