‘झिँगेदाउ २’ को छायांकन पनौतीबाट सुरु


काठमाडौँ। निर्देशक ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट प्रतिक्षित सिक्वेल ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन्। सोमबार सम्पन्न शुभमुहूर्तपछि करिब साढे तीन करोड रुपैयाँ बजेटमा निर्माण हुन लागेको यस सुपरहिट फ्रेन्चाइजको छायांकन आधिकारिक रूपमा सुरु भएको निर्माता समेत रहेका निर्देशक देउजाले जानकारी दिए।

मुख्य अभिनेता आर्यन सिग्देलको मुहूर्त सटबाट सुटिंग थालिएको सिनेमाको छायांकन सेड्युल करिब ६० दिनको तय गरिएको छ। पनौतीमा भव्य सेट निर्माण गरिएको यो सिनेमा त्यसपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङ हुँदै निरन्तर अघि बढ्नेछ। अघिल्लो भाग ‘झिँगेदाउ’ जहाँ सकिएको थियो, सिक्वेलले त्यहीँबाट कथा अघि बढाउने निर्माणपक्षले जनाएको छ। फिल्मलाई आगामी वर्षको दशैंमा रिलिज गर्ने लक्ष्य राखिएको छ।

सिनेमामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुष लगायतका कलाकारको अभिनय रहनेछ। कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा फिल्म निर्माण हुँदैछ।

निर्देशक देउजाकै कथामाथि आधारित फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका छन्। फिल्ममा रोशन श्रेष्ठको द्धन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डि गुरुङको सम्पादन रहनेछ। त्यसैगरी, इशवर घिमिरे प्रोडक्सन म्यानेजर, चन्द्र भण्डारी मुख्य सहायक निर्देशक तथा पासाङ टि शेर्पा र मानिक पाख्रिन कला निर्देशकका रूपमा रहेका छन्।

बिष्णु घिमिरे ‘कल्पित’ ले छायांकन गर्ने फिल्मका निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.