‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्दै बरुण


काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् ।

एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फिचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।

यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंकै रहेको छ । फिल्म मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको निर्माता सुजन राई र तर्कराज जोशी रहेका छन् ।

‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुने ‘तरंग’ को छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुनेछ ।

यो सिनेमाको छायांकन केही दिनदेखि बेलबारीमा भइरहेको छ । चलचित्रको मुख्य भूमिकामा बरुणसँगै रविना केसी, भरत लिम्बु, कृष्ण थापा, सारा राई, उज्जवल राई र उत्तम गुरुङ लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

चलचित्रका छायाँकार महेश पौडेल रहेका छन् भने निर्माण नियन्त्रकको भूमिकामा रिजन परियार छन् ।

खलनायकका विविध भूमिकाबाट पहिचान बनाएका निर्देशक चौधरी लामो समयदेखि मण्डला नाटकघरसँग आबद्ध छन् । उनी पछिल्लो पटक चलचित्र ‘वरिष्ठ बलराम’ मा देखिएका थिए । यो सिनेमालाई २०२६ भित्र रिलिज गरिने निर्माणपक्षले बताएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.