
काठमाडौं। कृशन फिल्म्सको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘लोकन्ती’ को ट्रेलर सार्वजनिक गरिएको छ। यहि मंसिर २६ गते शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउने चलचित्रको ट्रेलर राजधानी काठमाडौँमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । सार्वजनिक २ मिनेट ३० सेकेन्ड लामो ट्रेलरमा कमेडी र पारिवारिक कथालाइ उठाउन खोजिएको छ। ट्रेलर रिलिज कार्यक्रममा चलचित्रका सम्पूर्ण टिमको उपस्थिति रहेको थियो। ट्रेलरमा चलचित्रका सम्पूर्ण प्रमुख कलाकारलाई अटाइएको छ।
काजी लिम्बुले लेखेको कथा ‘लोकन्ती’ चलचित्रलाई निर्देशक रञ्जित रानाले पूर्ण पारिवारिक ड्रामाको रूपमा पेश गरेका छन्। चलचित्रमा अभिनेता एसराज गराच मुख्य भूमिकामा देखिँदैछन्। केहि बर्षको अन्तराल पछि चलचित्र ‘लोकन्ती’ मार्फत दर्शक माझ आउन लागेका अभिनेता एसराजले यो चलचित्र राम्रो बनेको र चलचित्र दर्शकले मन पराउनेमा आशावादी रहेको बताए।
चलचित्रका निर्माता सन्तोष न्यौपाने हुन्। एसराजसँगै अभिनेत्री तथा मोडल ऋचा थापाको अनस्क्रिन केमिस्ट्री रहेको छ साथै, विमला लिम्बु,कुमार न्यौपाने र विकाश अधिकारी, दमन रुपाखेती,गोविन्द प्रभात लगायत कलाकारहरूको मुख्य भूमिका रहेको छ।
यसै चलचित्रमार्फत कुमार न्यौपाने र विकाश अधिकारीले अभिनय यात्राको सुरुवात गरिरहेका छन्। संगीत निर्देशनमा विकास चौधरी, छायांकनमा रोनिश तामाङ च्याङ्बा,शृंगार अशोक रोक्काको रहेको छ भने सम्पादन गौतम राज खड्काले गरेका हुन् । ट्रेलर सम्पादन सन्दीप डाँगीले गरेका हुन्।
चलचित्रमा शंकर अधिकारी घायल,डा.ओम कृष्ण प्रसाईं,दिपेन्द्र खड्का र सन्दीप डाँगीको गीत रहेको छ। नेपाली संस्कृतिमा आधारित भावनात्मक तथा सामाजिक कथानक बोकेको ‘लोकन्ती’ ले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ।


