‘हर्ष’लाई दर्शकले मन पराउनेमा निर्देशक एकता विश्वस्त, भन्छिन् “यो हरेक परिवारको आफ्नै कथा हो”


काठमाडौं । पछिल्लो समय नेपाली बक्स अफिसमा सफल ठहरिएका अधिकांश फिल्महरू पारिवारिक कथामा बनेका छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ देखि यी वर्ष दर्शकको मन जितेको ‘परान’ सम्म यी सबै परिवारको भावनालाई केन्द्रमा राखेर बनेका सिनेमानै हुन् ।

यसलाई निरन्तरता दिँदै अर्को पारिवारिक सिनेमा ‘हर्ष’ रिलिजको प्रतीक्षामा छ । आम नेपालीको दैनिक जीवन, घरभित्रका उतार–चढाव र चलनचल्तीका यथार्थ घटनालाई आधार बनाएर फिल्म तयार भएको निर्माण पक्षको दाबी छ।

निर्देशक एकता पौडेलका अनुसार ‘हर्ष’ अहिलेको नेपाली समाजले भोगिरहेको वास्तविकता बोलेको कथा हो । “हरेक परिवारको मनमा लुकेको पीडा, खुसी र सम्बन्धका गाँठो नाता चलचित्रले खोलेर देखाउँछ,” पौडेल भन्छिन्, “त्यसैले दर्शकले आफ्नै जीवन देखेजस्तो महसुस गर्नुहुनेछ ।”

मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने ‘हर्ष’ पौडेलको डेब्यु निर्देशन हो । फिल्ममा वर्षा राउत र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । साथै निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर लगायतका अनुभवी कलाकारहरूदेखि बाल कलाकार साइमन वादीसम्मको सशक्त उपस्थिति छ ।

निर्देशक एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म निर्माणमा अध्ययन गरेकी हुन्। स्नातकमा आमसञ्चार तथा स्नातकोत्तरमा व्यवस्थापन तथा नेतृत्व अध्ययन गरेकी पौडेलले यसअघिसम्म थुप्रै छोटा फिल्म बनाइसकेकी छन् ।

फिल्ममा आलोक शुक्लाको छायांकन, समीर–हिमाल, वसन्त सापकोटा र एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा निर्देशक पौडेल स्वयं र सुनिल क्षेत्रीको कोरियोग्राफी समावेश छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राइम मुभिजको संयुक्त ब्यानरमा बनेको फिल्मको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता हुन् । प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.