‘परान’ ले जित्दै दर्शकको मन, दर्शकको उत्कृष्ट प्रतिक्रियासँगै बढ्यो हल संख्या


काठमाडौँ। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘परान’ ले दर्शकमाझ असाधारण प्रतिक्रिया बटुल्दै देशभर चर्चा कमाइरहेको छ। भावनात्मक पारिवारिक कथा प्रस्तुत गर्ने यस चलचित्रले हलभित्र मात्र होइन, सामाजिक सञ्जालमा पनि दर्शकको आँसु र प्रशंसा समान रूपमा भित्र्याएको छ।

‘सक्किगोनी’का ‘काकु’ पात्रमार्फत चर्चामा आएका दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको यो फिल्मले कथा, अभिनय र निर्देशन तीनै पक्षमा दर्शकको मन जित्न सफल भएको छ। धेरैले आचार्यको पहिलो निर्देशनमै परिपक्व दृष्टिकोण देखिएको प्रतिक्रिया दिएका छन्।

केन्द्रीय भूमिकामा रहेका नीर शाहको अभिनयलाई विशेष प्रशंसा गरिएको छ, भने अन्य कलाकारहरू केकी अधिकारी, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतले पनि आफ्नो भूमिकामा सशक्त उपस्थिति देखाएका छन्।

फिल्मले पाएको ‘वर्ड अफ माउथ’ प्रभाव अत्यन्त सकारात्मक छ। दर्शकहरू कथासँग गहिरो भावनात्मक रूपमा जोडिएका छन्— कसैले आफ्नै जीवन झल्किएको महसुस गरेका छन्, कसैले बुबाछोराबीचको सम्बन्धमा आँसु झारेका छन्।

रिलिज अघिको प्रिमियरमा समेत पत्रकार, सम्पादक, उद्योगी तथा सेलिब्रेटीहरूबाट फिल्मले उच्च प्रशंसा पाएको थियो। उपस्थितहरूले ‘परान’लाई नेपाली माटोको सुगन्ध, परिवारको भाव र समयको यथार्थ बोकेको सिनेमाका रूपमा व्याख्या गरेका थिए।

गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका प्रमुख रञ्जित आचार्यको सहनिर्माणमा बाइस्कोप सिनेमाजको ब्यानरमा बनेको यो फिल्मले पहिलो निर्माणमै राम्रो परिणाम दिँदै घरेलु बक्स अफिसमा बलियो उपस्थितिको संकेत गरेको छ।

बर्षाका कारण आरम्भमा दर्शक संख्यामा केही गिरावट भए पनि सकारात्मक समीक्षासँगै फिल्मले पुनः गति लिएको निर्माणपक्षले जनाएको छ। माग बढेसँगै हलहरूको संख्या पनि क्रमशः बढाइएको छ।

किन मन पराइरहेका छन् दर्शकहरूले ‘परान’?

‘परान’ को कथा सामान्य पारिवारिक घेराभित्रको असामान्य संवेदनामा केन्द्रित छ। यसले परिवारको अर्थ, बाबुछोराबीचको दूरी, आधुनिक समाजको प्रतिस्पर्धा, र पुँजीवादी सोचले बिगारिरहेको सम्बन्धहरूलाई भित्री रूपमा उजागर गर्छ।

फिल्मको भावनात्मक लयले दर्शकलाई क्रमशः हसाउँछ, सोच्न बाध्य बनाउँछ, अनि अन्ततः रुवाउँछ पनि। विशेषगरी विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि फिल्म अझ नजिकको अनुभवजस्तो लागिरहेको छ— आफ्नो गाउँ, परिवार र समय सम्झाउने एउटा भाबनात्मक यात्रा।

‘परान’ ठग्दैन, छोइदिन्छ। यही कारणले यो फिल्म अहिले दर्शकबीच ‘हेर्नैपर्ने नेपाली सिनेमा’को रूपमा स्थापित हुँदै गएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.