
काठमाडौँ। बालमनोविज्ञानमा आधारित नेपाली चलचित्र ‘रोल नं. १’ का लागि सेभेन सिज सिनेमाले बाल कलाकारको अडिसन खुला गरेको छ।
निर्माण समूहले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै ७ देखि १२ वर्ष उमेर समूहका प्रतिभाशाली बालबालिकाको खोजी भइरहेको जनाएको छ। इच्छुकले सानो भिडियो क्लिप तयार गरी audition4rollno1@gmail.com
 वा WhatsApp नं. ९८६५११९३११ मा पठाउन सक्नेछन्।
गत वर्ष औपचारिक रूपमा घोषणा गरिएको चलचित्रको फर्स्टलुक पोस्टर पनि सार्वजनिक भइसकेको छ, जसमा कक्षाकोठाको अन्तिम बेन्चमा बसेको एक विद्यार्थीले हात उठाउँदै ‘म यहाँ छु’ भन्ने भाव प्रकट गरेको देखिन्छ। उक्त दृश्यले नै चलचित्र बालमनोविज्ञानसँग सम्बन्धित रहेको संकेत गरेको थियो।
निर्माणपक्षका अनुसार ७–८ वर्ष उमेरका ३ जना केटा, ६–७ वर्षकी १ जना केटी, र ११–१२ वर्षका २ जना केटा बाल कलाकार आवश्यक छन्। उनीहरूको रङ हल्का गहुँगोरो र उचाइ करिब २.५ देखि ३ फिटसम्म हुनुपर्ने जनाइएको छ।
चलचित्रले विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा, र ‘जित्नैपर्ने मानसिकता’ वरिपरि कथा बुन्ने संकेत गरिएको छ। निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्,
“सबैलाई नजिते, इज्जतै पाउँदैन रे। अरु सबै मुर्ख अरे एउटै विद्वान— रोल नं. वान, रोल नं. वान…” उनको उक्त अभिव्यक्तिले चलचित्रले प्रतिस्पर्धात्मक समाजले बालमस्तिष्कमा पार्ने प्रभावलाई गहिरो रूपमा चित्रण गर्ने संकेत गर्छ।
‘रोल नं. १’ मा जोन योञ्जनको कथा तथा निर्देशन, महेश दवाडीको पटकथा र संवाद, र प्रशान्त शिवाकोटीको संगीत रहनेछ। कलाकारहरूको नाम भने हालसम्म गोप्य राखिएको छ। सेभेन सिज सिनेमाको अर्को प्रस्तुति ‘अभिमन्यु : च्याप्टर–१’ पनि प्रदर्शनको तयारीमा रहेको छ।



							
							
							
							
							
							