
काठमाडौं । यही कार्तिक १४ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म ‘परान’ ले दर्शकबीच पारिवारिक सम्बन्धको गहिरो भावनात्मक कथा लिएर आउँदैछ । मङ्गलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक दीपकप्रसाद आचार्य (काकु) र अभिनेत्रीहरू पूजा चन्द, केकी अधिकारी र अञ्जना बराइलीले फिल्मबारे अनुभव सुनाए ।
प्रचारप्रसारको क्रममा निर्देशक आचार्य ‘परान’ लेखिएको हरियो टी–शर्टमा उपस्थित थिए । तीन जना नायिकासँग स्टेज साझा गर्दै उनले हाँस्यात्मक शैलीमा भने, “म त हेन्सम छु, तर फिल्म चलाउने काम यी सुन्दरीहरूले गर्ने हुन्।”
फिल्मको कथा र अभिनयबारे बोल्दै उनले थपे, “फिल्ममा बुवा र छोराबीचको सम्बन्धलाई गहिरो रूपमा प्रस्तुत गरिएको छ । कथा जीवनका वास्तविक भावनाबाट प्रेरित छ ।”
अभिनेत्री केकी अधिकारीका अनुसार ‘परान’ केवल मनोरञ्जन होइन, जीवनका सम्बन्धहरूको गहिराइ नाप्ने सिनेमाटिक प्रयास हो । मलेशिया प्रस्थानअघि उनले भनिन्, “यो फिल्म सबै उमेरका दर्शकका लागि सान्दर्भिक छ । हरेक परिवारले आफ्नै कथा यसमा देख्नेछन् ।”

अमेरिकाबाट फर्किएकी अभिनेत्री पूजा चन्दले फिल्ममा आमा, श्रीमती र सासूका भूमिकामार्फत एउटै महिलाको विभिन्न रूप देखाउन खोजिएको बताइन् । “परान परिवारको कथा हो माया, अपेक्षा र जिम्मेवारीको कथा,” उनले भनिन् ।
त्यस्तै, अञ्जना बराइलीले फिल्मले केवल बुवा–छोराको सम्बन्ध होइन, सासु–ससुरा र बुहारीबीचको भावनात्मक सम्बन्धसमेत केलाएको बताइन् ।
पत्रकार सम्मेलनमा जब कलाकारहरूलाई सोधियो, “तपाईंहरूको परान के हो?” उनीहरू एकै स्वरमा मुस्कुराउँदै उत्तर दिए, “फिल्म ‘परान’ नै हाम्रो परान हो ।”
फिल्मले जीवनको उत्तरार्धमा पुगेका एक पिताको दृष्टिबाट परिवारप्रतिको माया, सन्तानप्रतिको अपेक्षा र त्यसबीचको दूरीलाई भावनात्मक रूपमा चित्रण गरेको छ । आफ्नो सपना र जिम्मेवारीबीच द्वन्द्वमा परेको छोराको संघर्ष फिल्मको केन्द्रीय कथा बनेको छ । ‘परान’ केवल एउटा कथा होइन बुढेसकालमा सन्तानको साथ खोज्ने अभिभावक र आफ्नै लक्ष्य पछ्याउने सन्तानबीचको भावनात्मक पुलको कथा हो ।
निर्माण टिमका अनुसार ‘परान’ ले नेपाली समाजका हरेक परिवारले महसुस गर्ने संवेदनालाई पर्दामा उतारेको छ । निर्देशक आचार्यले दर्शकलाई फिल्म हेरेर आफ्ना भावनात्मक प्रतिक्रिया दिन आग्रह गरे ।
फिल्ममा वरिष्ठ अभिनेता नीर शाहले प्रमुख भूमिका निभाएका छन् । उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले, दमन रुपाखेती, पुष्पराज ओझा, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यदीप आचार्य तथा आरभजंग अधिकारीको पनि अभिनय रहेको छ ।



