
काठमाडौँ । कार्तिक २१ गते प्रदर्शनमा आउने प्रतिक्षित सिनेमा ‘जारी २ : सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक गरिएको छ। सार्वजनिक फुटेजले दयाहाङ राईलाई च्याब्रुङ वादकको नयाँ रूप–रंगमा प्रस्तुत गर्छ। पहिला छोरीको जन्मपछि उत्पन्न वैवाहिक दूरी र त्यसले ल्याउने भावनात्मक उतार–चढावलाई यस सिक्वेलले मुख्य कथाक्रम बनाएको झल्को ट्रेलरले दिएको छ।
दयाहाङ र मिरुना मगरको जोडीसहित, विजय बरालको पात्रले देखाउने वैवाहिक द्वन्द्व र त्यसमा मिसिएको डार्क ह्युमरले दर्शकलाई थप जिज्ञासु बनाउने संकेत छ।
३ मिनेट ५२ सेकेन्डको ट्रेलरले यस पटकको ‘जारी’ अझ रोमाञ्चक, भावनात्मक र कौतुहलतापूर्ण हुने धारणा बलियो बनाएको छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल मुख्य भूमिकामा छन्। साथै बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु सहितको दमदार अभिनय समावेश छ।



