क्यारेक्टरको भित्री गहिराइमा पस्यो भने मात्रै अभिनयको मजा आउँछ : दयाहाङ


काठमाडौँ । अभिनेता दयाहाङ राईले आफ्नो नयाँ चलचित्र ‘वरिष्ठ बलराम’ मा आवरण र प्रस्तुती दुवैमा नयाँपन देखाउने प्रयास गरेको बताएका छन् । प्रायः गाउँले, साधारण र संघर्षरत पात्रमा देखिँदै आएका दयाहाङ यस पटक भने सहरिया र धनी व्यक्तित्वमा प्रस्तुत हुने भएका छन् ।

चलचित्रमा उनले कार चढेर अगाडि–पछाडि पाँच–सात जना पात्रहरूसँग रवाफ देखाउने पात्र निभाएका छन् । यही कारण उनले “यो पटक आवरणमै फरकपन छ,” भनेका हुन् । ट्रेलरमा पनि उनी अघिल्ला फिल्मका रूपभन्दा निकै भिन्न गेटअपमा देखिएका छन्, कोट, पाइन्ट र टाइमा ठाँटिएर हिँड्ने शैलीमा।

दयाहाङ भन्छन्, “मलाई बाहिरी आवरणभन्दा पनि पात्रको भित्री पक्षमा पसेर काम गर्न मन पर्छ । अभिनयको आनन्द त्यहीँ हुन्छ । ‘वरिष्ठ बलराम’को स्क्रिप्ट पढ्दा मैले यस्तो गेटअप हुने कल्पना नै गरेको थिइनँ।”

चलचित्रका निर्देशक सुरेन्द्र पौडेलका अनुसार, उनले दयाहाङलाई सुरुदेखि नै “सुट–टाइमा हिँड्ने वरिष्ठ र प्रभावशाली पात्र”को रूपमा देखेका थिए । निर्देशक भन्छन्, “दयाहाङले निभाएको पात्र बाहिरबाट शक्तिशाली र दम्भी देखिन्छ, तर भित्री मन अर्कै छ। त्यसैले यो आवरण आवश्यक थियो।”

चितवनको प्रचण्ड गर्मीमा सुट–टाइ लगाएर अभिनय गर्नु दयाहाङका लागि सजिलो थिएन । उनी मुस्कुराउँदै सम्झन्छन्, “आवरण फरक थियो, तर असहज भने लागेन । अभिनय हो, जस्तो प¥यो त्यही गर्नु पर्छ । तर त्यो गर्मीमा कोट लगाउँदा भने साँच्चिकै चुनौती थियो।”

‘वरिष्ठ बलराम’मा दयाहाङ एक यस्ता पात्रका रूपमा देखिनेछन्, जसले आफूलाई वरिष्ठ ठान्छ, आफ्नो प्रभाव क्षेत्रमा कसैको हस्तक्षेप मन पराउँदैन । तर, विजय बरालले निभाएको अर्को पात्रसँगको शक्ति संघर्ष नै चलचित्रको मूल कथा हो।

दयाहाङ र विजयसँगै चलचित्रमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारहरू मुख्य भूमिकामा छन् । साथै सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई र कुन्दन थारु पनि अभिनयरत छन् ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने महेश दवाडीले पटकथा लेखेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस चलचित्रका निर्माता आशिष एच तामाङ र श्रीराज कार्की हुन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन्।

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीका दिनदेखि प्रदर्शनमा आउने तयारीमा छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.