‘वरिष्ठ बलराम’ मा समृद्धि अर्यालको प्रभावशाली उपस्थिति


काठमाडौं। अभिनेत्री समृद्धि अर्यालले आफूले अभिनय गरेको चलचित्र ‘वरिष्ठ बलराम’ मा आफ्नो भूमिका निकै प्रभावशाली र सशक्त रहेको बताएकी छन्। उनका अनुसार, चलचित्रमा उनको उपस्थिति सानो भए पनि कथाको निर्णायक क्षणमा महत्वपूर्ण प्रभाव पार्ने खालको छ।

“जहाँजहाँ म देखिन्छु, त्यहाँ मेरो पात्रले कथा अघि बढाउन भूमिका खेल्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरको यात्रामा मेरो पात्रले प्रत्यक्ष प्रभाव पार्छ।”

समृद्धिले फिल्ममा अभिनेता विजय बरालको अपोजिटमा अभिनय गरेकी छन्। उनका अनुसार, दयाहाङ राई र विजय बराल जस्ता अनुभवी कलाकारसँग काम गर्नु चुनौतीपूर्ण भए पनि सिक्ने अवसर पनि उत्तिकै थियो। “दुईजना अब्बल कलाकारसँग काम गर्दा सुरुमा डर लाग्थ्यो,” उनले भनिन्, “तर त्यही डरले मलाई अझै राम्रो गर्न प्रेरित गर्‍यो।”

पहिलो फिल्म ‘फर्की फर्की’ मा नयाँ टिमसँग सहज काम गरेकी समृद्धिले ‘वरिष्ठ बलराम’ लाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण मोडको रूपमा लिएकी छन्।

उनको भनाइमा, “यो चलचित्रमा म कुनै ‘शो पिस’ होइन। मेरो पात्रले बलरामको कथा अघि बढाउने इम्प्याक्टफुल स्पेस पाएको छ।”

चलचित्रमा उनी ‘कुशुम’ नामको पात्रमा देखिँदैछिन्। समृद्धि भन्छिन्, “यो पात्र भोलि कति लोकप्रिय हुन्छ भन्ने त थाहा छैन, तर दर्शकको मनमा बस्ने खालको भने पक्कै छ।”

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गते (भाइटीका) मा प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका छन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा र आन्भी फिल्म्सको सहकार्यमा बनेको यस फिल्मका निर्माता हुन् आशिष एच तामाङ र श्रीराज कार्की, जबकि कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी. घिमिरे रहेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.