मैझारोको ‘साकेला नाचौ’मा दयाहाङ, दीया, धिरज र मिरुनाको छमछमी


काठमाडौं । दसैंको पूर्णिमाको अवसर पारेर चलचित्र ‘मैझारो’ मा समावेश दोस्रो गीत ‘साकेला नाचौ’ सार्वजनिक गरिएको छ। चलचित्र को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले दर्शकमा उत्सुकता थप्ने उद्देश्यले यो गीत सार्वजनिक गरेको हो। चलचित्र ‘मैझारो’ आगामी कातिक ७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ।

राजेश पायल राई र मेलिना राईको स्वरमा रहेको यस गीतमा पदम साधना कुलुङको शब्द रचना र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। ओएसआर युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा कलाकार दयाहाङ राई, दीया पुन, धिरज मगर र मिरुना मगरले जोडी बनाएर साकेला नृत्य प्रस्तुत गरेका छन्।

नेपालका पूर्वी जिल्लामा बसोबास गर्ने राई समुदायले साकेला नाचलाई आफ्ना महत्वपूर्ण पर्व उधौली र उभौलीका बेला परम्परागत रूपमा नाच्ने चलन रहेको छ। यही सांस्कृतिक पृष्ठभूमिलाई गीतमार्फत झल्काइएको छ।

हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशकिय डेब्यू रहेको यो चलचित्रमा धिरज मगर, मिरुना मगर, दीया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायत कलाकारहरूको अभिनय रहेको छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्। चलचित्रको छायांकन सौरभ लामाले गरेका हुन्। यसको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.