सुरक्षा पन्त अभिनीत ‘धागो’को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक


काठमाडौं। अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको नेपाली चलचित्र धागो को पहिलो गीत ‘ट्याउँ ट्याउँ’ सार्वजनिक गरिएको छ। कार्तिक २८ गते (नोभेम्बर १४) नेपाल र भारतका हलमा एकसाथ रिलिज हुन लागिरहेको यो चलचित्रको गीत शुक्रवार सार्वजनिक गरिएको हो।

गीतमा चर्चित गायक पुष्पन प्रधान र आकाङ्क्षा थापाको स्वर रहेको छ। शब्द र सङ्गीत पनि पुष्पन प्रधानकै रहेको गीतलाई रमाइलो तथा नृत्यमय शैलीमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता बुद्धि तामाङ, अभिनेत्री वर्षा राउत, सुरक्षा पन्त, प्रभात थापा र सुरभि थापा लगायतका कलाकारहरू देखिएका छन्। कोरियोग्राफी भने चर्चित नृत्य निर्देशक कविराज गहतराजले गरेका हुन्।

गीत सार्वजनिकसँगै चलचित्रप्रति दर्शकको चासो झन् बढ्ने अपेक्षा निर्माण पक्षले जनाएको छ। निर्देशक उदिप राणा थापाका अनुसार, नेपालमा युट्युब लगायतका सामाजिक सञ्जाल नखुल्ने प्रक्रियाका बाबजुद भारत र नेपाल दुवैलाई लक्षित गरेर गीत रिलिज गरिएको हो। भारतको पश्चिम बङ्गालको सिलिगुडीमा विशेष कार्यक्रमसमेत आयोजना गरी गीतको प्रिमियर गरिएको छ।

यस चलचित्रले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, उनीहरूको आपसी भावनात्मक सम्बन्ध र सांस्कृतिक धागोलाई केन्द्रमा राखेको छ। यस चलचित्रमा सुरक्षा पन्तसँगै भारतको वेस्ट बङ्गाल डुवर्सका प्रभात थापा र मिस दार्जिलिङ तथा मिस नर्थ इस्ट भारत विजेता सुरभि थापा प्रमुख भूमिकामा देखिनेछन्। साथै, बुद्धि तामाङ, सुनिल थापा, रबिन सान्संकर, दीप छेत्री, प्रज्ञा थापा, बाबु प्रधान, सेवन विश्वकर्मा, राजीव भुसाल, आइशा तामाङ, पप्पु विश्वकर्मा लगायतका कलाकारहरूले अभिनय गरेका छन्। अभिनेत्री वर्षा राउतले भने केमियो भूमिका निर्वाह गरेकी छन्।

चलचित्रका छायाङ्कन निर्देशक बलिउडका अनिकेर एम. घोघले हुन्। सम्पादनमा अखिलेश राय, कस्ट्युम डिजाइनमा बिनु प्रधान, भीएफएक्समा अनुरूप केर्टकेट्टा, रङ्ग संयोजनमा अनिन्दिया एस. राय, साउन्ड डिजाइनमा अमित त्रिवेदी, कोरियोग्राफिमा कविराज गहतराज र बसन दर्जी, कन्सल्टेन्ट एडिटरमा कमलेश पराउ तथा ब्याकग्राउण्ड स्कोरमा निर्मल पन्या रहेका छन्।

‘धागो’ चलचित्रलाई फिल्म म्याग्नेट इन्टरटेन्मेन्ट इन्डियाले निर्माण गरेको हो। यसको निर्मातामा उमा थापा, उत्तम थापा र उदिप थापा रहेका छन् भने सह–निर्मातामा प्रभात थापा, समीर तामाङ र राजेश क्षेत्री छन्। जसमा, सुपरभाइजिङ प्रोड्युसर वहिद एम. मुन्सुरी र उदय थापा रहेका छन्। ‘धागो’को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। नेपालमा यस चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।

https://youtu.be/vYwz1RzMJB4

Copyright © 2012 - 2026 | All Right Reserved.