कृषाको जन्मदिनमा फिल्म ‘पारस’ निर्माण घोषणा


काठमाडौं। निर्देशक कृषा चौलागाइँको जन्मदिन पारेर नयाँ फिल्म ‘पारस’ को औपचारिक घोषणा गरिएको छ। बुधबार आयोजित कार्यक्रममा फिल्मको कथा तथा निर्देशन स्वयं निर्देशक कृषाले गर्ने भएकी छन्।

उनकै भाइ विशाल चौलागाइँको लगानीमा बन्ने यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षका अनुसार फिल्मको छायांकन (डीओपी) पुरुषोत्तम प्रधानले गर्नेछन्। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’ र ‘पिताम्बर’ मा सहकार्य गरिसकेका छन्। यो उनीहरूको तेस्रो सहकार्य हुनेछ। निर्माता विशाल र यो टिमबीच पनि यो तेस्रो सहकार्य नै हो।

केपी फिल्म्सको ब्यानरमा निर्माण हुने ‘पारस’ फागुनदेखि छायांकनमा जानेछ। बुधबार साँझ कालोपुलस्थित एक पार्टी प्यालेसमा भएको घोषणा कार्यक्रममा निर्देशक कृषाले फिल्म एक्सनका साथै लभ स्टोरी हुने जानकारी दिइन्।

“पारस को स्क्रिप्ट पहिलोपटक नेपालमै बस्दा सचिन लदियाले लेख्न सुरु गर्नुभएको हो। अहिले यति मात्र भन्न मिल्छ, पछि भेट्दा अरु विवरण दिन्छु,” उनले भनिन्। कलाकार तथा प्राविधिक टिमको बारेमा भने क्रमशः जानकारी दिइने बताइएको छ।

निर्माता विशाल चौलागाइँले दिदीको जन्मदिनलाई विशेष बनाउन फिल्म घोषणा गरिएको बताए। उनले भने, “पिताम्बर मा भएका केही गल्तीहरु अब पारस मा सुधार्नेछौं। गतवर्षको जन्मदिनमा पनि उपहारकै रूपमा फिल्मको सुटिङमा सहभागी भएका थियौं।”

घोषणा कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरी प्रमुख अतिथि रहेका थिए। उनले निर्देशक कृषालाई जन्मदिन तथा नयाँ फिल्मको सफलताको शुभकामना दिए।

Copyright © 2012 - 2026 | All Right Reserved.