झुमा लिम्बुले ‘जारी २’ टिमसँग मिलेर ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने


काठमाडौं। गायिका झुमा लिम्बु एण्ड दि रैथाने व्याण्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी २’को टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ ।

रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सशरमा प्रस्तुती दिनेछिन् । जसमा उनको व्याण्डको शोलो प्रस्तुती रहनेछ । त्यसका अलवा जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानिय कला संस्कृति र गीत संगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका लिम्बु बताउँछिन् ।

यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ । विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनी लगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ ।

लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिविम्ब भएको गायिका लिम्बुले बताइन् । ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्याउने आशा लिएका छौं । ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ’ उनले भनिन् ।

यो रैथाने घुमफिर यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना गायिका झुमा लिम्बुको छ । हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ । ‘रैथाने घुमफिर’का अन्य कार्यक्रम बिस्तारै सार्वजनिक गरिने बताइएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.