समिक्षा र रचनाको स्वरमा सुष्मा महराको ‘आयो तीज’ सार्वजनिक


काठमाडौंँ । चर्चित गायिकाद्वय समिक्षा अधिकारी र रचना रिमालको सुमधुर स्वरमा सजिएको नयाँ तीज गीत ‘आयो तीज’ राजधानीमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको छ। गीतका शब्द चर्चित गीतकार सुष्मा महराले लेखेकी हुन्।

लोक–रोमान्टिक शैलीमा तयार यो गीतमा मौलिक शब्द र उत्साहपूर्ण धुनको मेल रहेको छ। पुरुषोत्तम न्यौपानेको संगीत र केशव बाबुको एरेन्जले गीतलाई थप जीवन्त बनाएको छ। छमछमी नचाउने यो गीतको आकर्षक भिडियो पनि निर्माण गरिएको छ, जसमा गीतकार महरा स्वयं र मोडल प्यारीको अभिनय देख्न सकिन्छ।

भिडियोमा थुप्रै कोरसको प्रयोग गरिएको छ भने निर्देशन शक्ति प्रज्वोल घिमिरेको छ। छायांकन चक्रबहादुर बराल, सम्पादन सतीश श्रेष्ठ र कोरियोग्राफी रोहिया महर्जनको रहेको छ। फेसियल हाउसको निर्माणमा बनेको भिडियो म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रममा गीतकार महराले “यो गीतका शब्द केवल शब्द मात्र होइनन्, यी मेरो जीवनका पानाहरू हुन्” भन्दै आफ्ना जीवनका अनुभवहरू गीतमार्फत प्रस्तुत गरेको बताइन्। उनले यो आफ्नो दोस्रो तीज गीत भएको उल्लेख गर्दै, दर्शक–श्रोताले पहिलो गीतझैँ यसलाई पनि माया दिने विश्वास व्यक्त गरिन्।

संगीतकार न्यौपानेले गीतका शब्द मौलिक र मार्मिक भएकाले रोमान्टिक शैलीमा तयार पारेको बताए भने निर्देशक घिमिरेले नेपाली कला–संस्कृतिको झल्को दिने गरी भिडियो निर्माण गरिएको बताए।

Copyright © 2012 - 2026 | All Right Reserved.