व्यंग्यात्मक गाइजात्रा ‘ड्यामड्याम’ (भिडियो)


काठमाडौँ। “हरि ओम विष्णु विष्णु — नेपालका भ्रष्ट नेतालाई सिलौटामा पिस्नु!” यो कुनै वैदिक श्राद्ध मन्त्र होइन, बरु चर्चित हास्यकलाकार दमन रुपाखेतीको गाइजात्रे व्यंग्य ‘ड्यामड्याम’ को झल्को हो, जसले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ।

श्राद्ध ब्राह्मणको भेषमा रुपाखेतीले “जसो जसो जजमान, तसो तसो स्वाहा” भन्दै संसदमा बोल्न नसक्ने, निदाउने र उफ्रिने नेताहरूलाई तिखो कटाक्ष गरेका छन्। उनी “सिस्नु पानीले हान्नु नम!” भन्न समेत पछि परेका छैनन्।

रुपाखेतीका अनुसार, ‘ड्यामड्याम’ केवल मनोरञ्जनका लागि होइन, बरु राजनीतिक चेतना जगाउने र दलगत स्वार्थविरुद्ध घनघोर प्रहार गर्ने उद्देश्यले तयार गरिएको व्यंग्य हो। “यो नेताको नाम होइन, प्रवृत्तिमाथि झटारो हो,” उनी स्पष्ट पार्छन्।

दमन रुपाखेतीको निर्देशनमा बनेको उक्त गाइजात्रे भिडियोमा उत्तम अर्याल ‘कोदे’, मिनु कुमाइ, दिलिप ढकाल, बल बहादुर घतानी, सुप्रिया हमाल, समिता रिजाल र दीपक रायमाझीको दमदार अभिनय देख्न सकिन्छ।

भिडियोका निर्माता दिलिप ढकाल हुन्। छायांकन सागर खड्काले गरेका हुन् भने सम्पादन सुस्मा जिम्वाले गरेकी हुन्।

Copyright © 2012 - 2026 | All Right Reserved.