काठमाडौं । गायक, गीतकार तथा सङ्गीतकार बिक्की गुरुङले करिब पाँच वर्षपछि नयाँ गीत ‘डर लाग्छ’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द, सङ्गीत र स्वर स्वयं बिक्की गुरुङकै रहेको छ भने यसको भिडियोमा अभिनेत्री मलिका महत, अभिनेता कुन्साङ बम्जन र मोडल पूर्णिका सिजापति फिचर्ड छन्।
गीत ‘डर लाग्छ’ को निर्माण भिक्टर रसाइलीले गरेका हुन्। यस गीतमा रुपेश साख्याको बाँसुरी, सुमन बिकेको गिटार र किरण महर्जनको सारङ्गी वादन रहेको छ। गीतको भिडियोलाई निर्देशक विजय दोङले निर्देशन गरेका हुन् भने छायाङ्कन, सम्पादन र कलर ग्रेडिङ जितु तामाङले गरेका छन्।
बिक्की गुरुङ अमेरिका निवासी नेपाली कलाकार हुन् जसले २०१५ मा ‘केवल’ गीतबाट आफ्नो व्यावसायिक सङ्गीत यात्रा थालेका थिए। त्यसपछिका उनका ‘मरी जाऊँ’ र ‘मरी जाऊँ २’ जस्ता हिट गीतहरूले दर्शक तथा श्रोतामाझ गहिरो प्रभाव जमाएका छन्। उनका गीतहरूमा प्रेम, बिछोड र जीवनका संवेदनशील पक्षहरूलाई आत्मीय रूपमा प्रस्तुत गरिन्छ।