लोक सञ्चारकर्मी नेपालद्वारा १४ वटा मौलिक तीज गीतको सामूहिक विमोचन


काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा १४ वटा मौलिक तीज गीतहरू एकै मंचबाट सार्वजनिक गरिएको छ। राजधानीस्थित राष्ट्रिय नाचघर जमलमा आयोजित विशेष समारोहमा ती सबै गीतका पोस्टर र भिडियोहरू सामूहिक रूपमा विमोचन गरियो।

कार्यक्रममा प्रमुख अतिथि सांसद सोविता गौतम, सभापति संस्थाका अध्यक्ष चन्द्रमणी गौतम, संस्थापक अध्यक्ष गोविन्द गिरी तथा चर्चित लोकगायक–गायिकाहरू राजु परियार, घमेश दुलाल, बद्री पंगेनी, प्रकाश कटुवाल, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, सीता थापा, टिका पुन, मञ्जु थापा लगायतले सामूहिक रूपमा विमोचन गरे।

सार्वजनिक गरिएका गीतहरू
विमोचनमा प्रस्तुत भएका गीतहरूमा विभिन्न सर्जक तथा गायक/गायिकाहरूको सिर्जनशीलता झल्किन्छ। तीमध्ये प्रमुख गीतहरू यसप्रकार छन्:

भगवान भण्डारीको ‘धनमाया मनमाया’

विशाल महरको ‘तीज मनाउँछौं’

भिमसेन खतिवडाको ‘यो तीजमा भाइरल हुने हो’

भिमकुमार ओझाको ‘नौगेडी’

कस्तुप पन्तको ‘पापी तीज भाग–२’

सचिन भट्टराईको ‘जय जय शिव भोला’

खुश्बु सुनारको ‘ए आमा’

यामप्रसाद निउरेको ‘चोली फाटेको’

गोविन्द पौडेलको ‘माछा मासु केही खाँदिन’

मुना सुवेदी तिवारिको ‘मेरो त देशै माइती भयो’, ‘माया पार्देको चाहिँदैन रानी हार’

मदन ढकालको ‘माइतीको दैलो’

बिजय अनुरागीको ‘ए मैया’

सन्जु न्यौपानेको ‘निलो आकाशैमा बादलु’

प्रमुख अतिथि सांसद सोविता गौतमले गीत-संगीतमा मौलिकता हराउँदै जानु र विकृति बढ्दै जानु चिन्ताको विषय भएको बताइन्। भ्युजका लागि मात्रै गीत निर्माण गर्नुभन्दा दीर्घकालीन सोच आवश्यक रहेको उल्लेख गर्दै उनले सर्जकहरूलाई आत्मअनुशासनमा रही उत्तरदायी बन्न आग्रह गरिन्।

उनले भनिन्, “सर्जकहरू संवेदनशील र जिम्मेवार भएमा सेन्सर बोर्डको जरुरत नै पर्दैन।”

वरिष्ठ गायिका लक्ष्मी न्यौपानेलाई विशेष सम्मान
कार्यक्रममा लोक संगीतमा दीर्घ योगदान पु¥याएकी वरिष्ठ गायिका लक्ष्मी न्यौपानेलाई “मौलिक गायन सम्मान” प्रदान गरिएको थियो। सम्मान ग्रहण गर्दै उनले भनिन्, “परिवर्तन आवश्यक छ, तर लोक र मौलिकता भने परिवर्तन गर्नु हुँदैन।”

गायक राजु परियारले लोकरसमा आधारित सिर्जना कायम राख्न आग्रह गर्दै भने, “लोक छ, त लोकसंस्कृति छ, र त्यसैले लोकगीत पनि छ।”

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवालले अश्लीलताको सट्टा मौलिकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै सञ्चारमाध्यमले पनि मौलिक गीतहरूको प्रवर्द्धनमा भूमिका खेल्नुपर्ने बताए।

सभापति चन्द्रमणी गौतमले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले मौलिक गीतलाई प्रोत्साहन गर्न सामूहिक विमोचनको आयोजना गरेको बताए। उनले थपे, “केही कलाकर्मीले अपाच्य गीतहरू ल्याएकाले गृह मन्त्रालयमा पुग्नुपरेको हो। यो हाम्रो सामाजिक जिम्मेवारी पनि हो।”

कार्यक्रम संयोजन सबिता पोखरेलले गरेकी थिइन् भने स्वागत मन्तव्य कमल सरगमले प्रस्तुत गरेका थिए। संस्थापक अध्यक्ष गोविन्द गिरीले भने, “हामी सेन्सर बोर्डको अवधारणा स्थापित गर्न सक्रिय छौं, यो बन्देजका लागि मात्र नभई संगीतको मर्यादा र मौलिकता जोगाउन हो।”

Copyright © 2012 - 2026 | All Right Reserved.