काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ का दुई पोस्टर सार्वजनिक भएका छन्। निर्माण टिमले सोमबार सार्वजनिक गरेका पोस्टरले चलचित्रको कथावस्तु र पात्रहरूका मनोदशाको झल्को दिने प्रयास गरेका छन्।
दुवै पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू प्रस्तुत छन्। पहिलो पोस्टरमा प्रमुख पाँच कलाकार प्रकाश दाहाल, लक्ष्मी बर्देवा, कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी र किरण श्रेष्ठसहित अन्य दुई कलाकार देखिन्छन्। पोस्टरमा अधिकांश पात्र गम्भीर मुद्रामा देखिन्छन् भने किरण श्रेष्ठको अनुहारमा मात्र केही सहजता देखिन्छ। किन पात्रहरू तनावमा छन् भन्नेबारे भने खुलाइएको छैन।
पोस्टरमा एक पात्रलाई हतकडी लगाइएको छ र प्रहरी अधिकृतसँग बयान दिइरहेका छन्। छेउमा एक जना प्रहरी जवान सुरक्षार्थ उभिएका छन्। दृश्यले कथा र पात्रहरूको अवस्थाबारे संकेत गर्दै दर्शकमा कौतूहल जगाउने उद्देश्य बोकेको देखिन्छ।
दोस्रो पोस्टर भने शान्त र खुसीपूर्ण छ। यसमा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवालाई मन्दिरमा आरती गर्दै देखाइएको छ। अनुहारमा उल्लास र लक्ष्मीको पारम्परिक गेटअपले उनीहरू नवविवाहित जोडीझैँ देखिन्छन्।
यी पोस्टरहरूबाट पात्रहरूको लुक्स, सम्बन्ध र कथासँग सम्बन्धित संकेतहरू मिल्छन्। साथसाथै, केही रहस्य पनि कायम राखिएको छ, जसले सस्पेन्सको वातावरण सिर्जना गर्छ।
‘अभिमन्यु : च्याप्टर–१’ आगामी भदौ २७ गते नेपाली संस्करणमा प्रदर्शनमा आउनेछ भने यसको हिन्दी संस्करण असोज ६ (सेप्टेम्बर २२) मा विश्वव्यापी रूपमा रिलिज हुने निर्माता विनोद पौडेलले जानकारी दिएका छन्।
चलचित्रले पैसाको लोभमा परेर चक्रव्यूहमा फसेका पात्र र त्यहाँबाट मुक्त हुने उनीहरूको संघर्षको कथा पेश गर्ने बताइएको छ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका हुन्। यो उनको निर्देशनमा डेब्यु हो। चलचित्रमा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।
चलचित्रको कथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन्। निर्मातामा विनोद पौडेल र गुञ्जन गिरी, सह-निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन्। कार्यकारी निर्माताको रूपमा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।
जीवन शाक्य लाइन प्रोड्युसर रहेको चलचित्रमा शरद महतोले छायांकन, मनोज श्रेष्ठले भिएफएक्स, सुप्रिम पराजुलीले रंग संयोजन, र मदन घिमिरेले सम्पादनको जिम्मेवारी सम्हालेका छन्।