‘नेशनल म्यूजिक अवार्ड २०८१’ असार २८ मा, कुमा र दुर्गेशसहित भव्य कन्सर्ट




काठमाडौँ।
‘नेशनल म्यूजिक अवार्ड २०८१’ आगामी असार २८ गते आयोजना हुने भएको छ। रेडियो कान्तिपुरको आयोजनामा हुन लागेको यस अवार्ड समारोहमा १४ विधामा पुरस्कार वितरणका साथै ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ। अवार्डसँगै एक भव्य कन्सर्टसमेत आयोजना गरिनेछ, जसमा चर्चित १० युवा कलाकारहरूले प्रस्तुति दिनेछन्।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुने कार्यक्रममा कुमा सागर, दुर्गेश थापा, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा, एलिना चौहान र पशुपति शर्माले गायन प्रस्तुति दिनेछन्। त्यस्तै, सुन्दर खनाल र सुजिता श्रेष्ठको हास्य प्रस्तुतिले दर्शकलाई मनोरञ्जन दिनेछ।

कान्तिपुर टेलिभिजनका सीओओ सुरजसिंह ठकुरीले यसपटकको अवार्ड समारोहलाई नयाँ ढंगले प्रस्तुत गर्न लागिएको जानकारी दिए। उनका अनुसार, “यो वर्ष हामी दर्शकसँग प्रत्यक्ष रूपमा बसेर कार्यक्रम गर्दैछौँ। पहिला पाँचतारे होटलमा कार्यक्रम गरेर टेलिभिजनमार्फत दर्शकमाझ पुग्ने गरेका थियौँ, तर अहिले प्रत्यक्ष उपस्थित दर्शकसँगै रमाउने योजना बनाएका छौँ।”

रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यका अनुसार, पहिले रेडियो कान्तिपुरमा मात्रै बज्ने गीतलाई अवार्ड दिइन्थ्यो भने अहिले अन्य प्लेटफर्ममा लोकप्रिय भएका गीतहरूलाई पनि समेटिएको छ। “पहिले हामी आफैँले बजाएका गीतका स्रष्टालाई रोयल्टी दिँदै आएका थियौँ। अहिले रोयल्टी समाजमार्फत वितरण हुन्छ। त्यसैले अहिले हामीले विभिन्न स्रोतमा चर्चित भएका गीतहरूलाई पनि अवार्डमा समेटेका छौँ,” उनले बताए।

टिकट प्रणालीबारे उनले थपे: “टिकट राख्नुको उद्देश्य अपनत्व अनुभूति गराउनु हो। हामी दर्शकले सजीव रूपमा अनुभव गर्न सकून् भन्ने चाहन्छौँ। साथै, संगीतका मूर्धन्य व्यक्तित्वको सम्मान स्वरूप पनि यो कार्यक्रम विशेष बनाइएको हो।”

कार्यक्रममा कान्तिपुर मिडिया ग्रुपका व्यवसाय प्रमुख सागर केसी र पब्लिकेशन विभागकी कर्पोरेट हेड सिम्रन श्रेष्ठ पनि उपस्थित थिए। अवार्ड समारोह ‘रेड कार्पेट’सहित विशेष प्रस्तुतिमा सम्पन्न गरिने आयोजकले जनाएका छन्।

Copyright © 2012 - 2026 | All Right Reserved.