चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय


काठमाडौं। चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुरको पनि अभिनय रहेको छ।

एक्सन विधामा निर्माण गरिएको ‘कुम्भ’ मा नवनायक अशोक आर्यन, बरिष्ठ कलाकारहरू सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्काको मुख्य भूमिका रहेको छ।

चलचित्रको छायांकन पनि निर्देशक श्रेष्ठ स्वयंले गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको रहेको छ भने निर्माणमा रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह संलग्न छन्। ईश्वर बल्लभ उप्रेती कार्यकारी निर्माता हुन्। चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका छन्। चलचित्रको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ।