काठमाडौं। आठ वर्षअघि मण्डला थिएटरमा मञ्चन भएको ‘चिसो भञ्ज्याङ’ नाटकले सन्दीप श्रेष्ठलाई नेपाली नाट्यजगतमा चुपचाप प्रवेश गराएको थियो। त्यो प्रवेश प्रभावशाली थियो, तर लामो मौनतापछि उनी पुनः मञ्चमा फर्किँदैछन् – नयाँ कथा, नयाँ व्यथा र पुरानै साहस लिएर। नाटकको नाम नै प्रश्न हो — ‘चन्द्रलाइ कसले मार्यो?’
यो नाटक केवल एउटा सिर्जना होइन, निर्देशक सन्दीप श्रेष्ठको व्यक्तिगत संघर्षको प्रतिबिम्ब पनि हो। ‘चिसो भञ्ज्याङ’ पछि उनी पुनः अर्को नाटक मञ्चन गर्न खोजिरहे, तर सीमित स्रोत, सहयोगी निर्माता नहुनु, र न त पहुँच नै – यस्ता अवरोधहरूले उनी पटक–पटक रोकिए। यद्यपि समयसँगै परिपक्व हुँदै, आफैंलाई पुनः निर्माण गर्दै, उनले आफ्नो सपना मर्ने दिएनन्। र आज, त्यो सपना उनी मञ्चमा देखाउन तयार छन्।
मण्डला थिएटर नेपालको प्रस्तुति रहेको ‘चन्द्रलाइ कसले मार्यो?’ मा लेखन, परिकल्पना र निर्देशन सबै सन्दीप श्रेष्ठकै हातमा छ। नाटक असार २५ गतेदेखि साउन १८ गतेसम्म, मण्डला थिएटर (थापागाउँ, बानेश्वर) मा नियमित रूपमा मञ्चन हुनेछ। शो प्रत्येक दिन साँझ ५:३० बजे हुनेछ भने शनिबार दिउँसो १:१५ बजे विशेष अतिरिक्त प्रदर्शन राखिएको छ।
पोस्टरमा झल्किएको सन्देही दृश्यले नै दर्शकलाई प्रश्नको गर्तमा लैसकेको छ। प्रस्तुत शैली, कथाको गहिराइ र सन्दीपको निर्देशनमा रहेको इमानदारी नाटकको आत्मा बन्न पुगेको छ।
निर्देशक सन्दीप भन्छन्:
“मसँग ठूला नामका निर्माता थिएनन्, पहुँच थिएन, तर मसँग सपना थियो। त्यो सपना मसँगै हिँडेको थियो। मण्डला थिएटर र यहाँका मानिसहरूले त्यो सपना सँगै देखे, आज त्यो सपना साकार हुँदैछ।”
‘चन्द्रलाइ कसले मार्यो?’ नाटकले केवल एउटा पात्रको कथा बोल्दैन, यो प्रश्नमार्फत समाजलाई ऐना देखाउँछ। सन्दीप श्रेष्ठको यो सिर्जना आजका सयौं युवा सर्जकहरूको मौन भित्री कथा हो – जुन बोल्न नसक्नेहरूले महसुस गर्छन्।
शायद यही कारणले गर्दा यो नाटक एउटा प्रोडक्सन मात्र होइन, एक सन्देश हो। एउटा चपक्क मनमा बस्ने प्रश्न — जसको उत्तर दर्शकहरूले आफ्नै तरिकाले खोजिरहनेछन्।