काठमाडौं । र्याप संगीतबाट आफ्नो यात्रा थालेका शेखर वाग्ले – जसलाई सांगीतिक दुनियाँमा ‘सिड वाग्ले’ नामले चिनिन्छ – अहिले नेपाल फर्किएर राजनीतिसँगै पत्रकारिता र व्यवसायमा समेत सक्रिय भएका छन्। बेलायत (युके) मा लामो समय बसोबास गरेका उनले त्यहाँबाटै नेपाली र्याप संगीतमा आफ्नो नाम स्थापित गरेका थिए।
उनका र्यापहरू सदैव सामाजिक यथार्थ, राष्ट्रप्रेम र युवाको आकांक्षालाई समेट्ने खालका छन्। बेलायतमा रहँदा उनले विभिन्न सामाजिक विषयवस्तुमा धारिलो टिप्पणी गर्ने शैलीमा रचना गरेका र्यापहरू नेपाली प्रवासी युवाबीच लोकप्रिय बनेका थिए।
नेपाल फर्किएपछि सिड वाग्ले हाल नेकपा (एमाले) मा आवद्ध भई राजनीतिमा सक्रिय छन्। हालैका दिनमा उनले राष्ट्रिय युवा संघ नेपाल द्वारा आयोजित कार्यक्रमहरूमा प्रस्तुत गरेका र्यापहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन्। विशेषगरी ‘केपी ओली कप’ को अवसरमा प्रस्तुत गरिएको र्यापले ठूलो चर्चा पायो। त्यस्तै गणतन्त्र दिवसमा भृकुटीमण्डपमा महासचिव शंकर पोखरेलको उपस्थितिमा प्रस्तुत गरिएको उनको र्यापलाई समेत दर्शकले खुलेरै प्रशंसा गरेका थिए।
यसैगरी, पोखरामा जारी राष्ट्रिय युवा संघको महाधिवेशनमा उनले समुहसँग मिलेर तयार पारेको र्याप पनि निकै चर्चामा छ। वाग्लेका रचना राजनीतिलाई मात्र नभई समाजको गहिरो विश्लेषण गर्ने माध्यम बन्न पुगेका छन्।
“म भित्रको मनले सबैलाई सम्मान र माया गर्छ,” भन्छन् सिड। उनी र्यापलाई मनोरञ्जनको साधनमात्र नभई, जनताको आवाज बुलन्द गर्ने औजारका रूपमा प्रयोग गरिरहेका छन्।
र्याप, राजनीति, पत्रकारिता र व्यवसाय – यी सबै क्षेत्रमा एकसाथ सक्रिय वाग्ले बहुआयामिक प्रतिभाका धनी व्यक्ति हुन्। उनले नेपाली युवामा सिर्जनशीलता, देशप्रतिको प्रतिबद्धता र नेतृत्व क्षमताको सन्देश फैलाइरहेका छन्।
सिड वाग्ले आजको पुस्ताका लागि एउटा प्रेरणादायी उदाहरण बन्न पुगेका छन् – जसले संगीतमार्फत आवाज उठाउने बाटो समातेर अन्ततः राष्ट्र निर्माणमा सक्रिय सहभागिता जनाइरहेका छन्।