यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’ मा स्वस्तिमा


काठमाडौँ । षट्कोण आर्टसको निर्माणमा बन्न लागेको चलचित्र ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण गरेको षट्कोणले ‘लालीबजार’का लागि खड्का फाइनल भएको जनाएको हो ।

निर्माण युनिटले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति फागुन १ गते घोषणा गरेको छ । सार्वजनिक पोस्टरमा अभिनेत्री खड्का गर्भवतीको रूपमा देखिएकी छन् । उनको शृङ्गार र हाउभाउले फरक कथा चित्रण गर्ने बुझिन्छ ।

यम थापाको लेखन तथा निर्देशन रहने ‘लालीबजार’लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् । अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमका कारण आफू नयाँ र फरक रूपमा प्रस्तुत हुन तयार भएको बताइन् ।

उनले भनिन्, ‘दर्शकले मेरा अघिल्ला फिल्मभन्दा यसमा भिन्न देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’ फिल्मका अन्य कलाकार र विषयवस्तुका केही समयपछि जानकारी दिने निर्माण पक्षले बताएको छ ।