‘माइतीघर’को छायांकन सुरु, दशैंको फूलपातिबाट प्रदर्शनमा आउने


काठमाडौँ। फिल्म ‘माइतीघर’ को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा गर्दै पूजा गर्दै शुभसाइत गरियो ।

निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ ।
धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथी थिए । उनले, पहिलो पटक गाउँमा फिल्मको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो फिल्मबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।

शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए ।

शुभसाइत समारोह अघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय रहनेछ । मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ । फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । फिल्मका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।

फिल्मले तामाङ संकृतिको कथा भन्नेछ । ४० दिन लगाएर फिल्मको छायांकन गर्ने तयारी निर्माताको छ । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।