चलचित्र ‘जार’मा दुई करोड खर्चेर बाघको भीएफएक्स


काठमाडौं । चलचित्र ‘जार’का मुख्य कलाकार सौगात मल्ल बाघसँग आमानेसामने हुन्छन् । स्क्रिप्टमा उनले बाघको सामना गर्ने सिन छ ।

इन्द्र बहादुर राईले लेखेको कथामा यसका मुख्य पात्रलाई बाघले लतारेर लगेको दृश्य छ । यो दृश्य नराखे सिनेमा नै अधुरो हुने थियो ।

त्यसैले यसलाई जसरी पनि राख्नै पर्नेथियो । नराखे ‘जार’ कथा पढ्ने व्यक्तिले सिनेमा हेरे अधुरो महसुस गर्ने निश्चित थियो ।

त्यसैले निर्देशक फुर्वा छिरिङ लामाले यो दृश्य राख्ने निर्णय गरे । यो दृश्यका लागि भीएफएक्सको विकल्प थिएन । त्यसैले उनले भीएफएक्सका राख्ने निर्णय गरे ।

“सुरुमा त मलाई यो सम्भव छ र भन्ने लाग्यो किन भने कुनै पनि स्टुडियोलाई दिने हो भने यसका लागि कम्तीमा ८ देखि १० करोड रुपैयाँ लाग्ने थियो,” उनले भने, “तर, हामीले फ्रिलान्सर भीएफएक्स आर्टिस्टलाई काम गरायौँ ।”

फ्रिलान्सर भीएफएक्स आर्टिस्ट प्रयोग गर्दा पनि दुई करोड रुपैयाँ खर्च भएको निर्देशक लामाले बताए । लामो समय लिएर ३७ जना फ्रिलान्सर भीएफएक्स आर्टिस्टले बाघको दृश्यका लागि काम गरेको उनले जानकारी दिए ।

आठ मिनेटको उक्त दृश्यका लागि हलिउड मुभी ‘गेम अफ थ्रोन्स’, ‘मिसन इम्पोसिबल’लगायत सिनेमाका काम गर्ने भीएफएक्स आर्टिस्टले काम गरेको उनले बताए ।चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो । इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।

चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।