काठमाडौं। वैशाख २६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ले दर्शकमाझ प्रदर्शनपूर्व नै उचाइ लिएको छ। छोटा भिडियो प्लेटफर्महरूमा यो गीतको लोकप्रियता दिन प्रतिदिन चुलिँदै गएको छ।
झुमा लिम्बु र सुजन चापागाईंको स्वरमा सजिएको उक्त गीत झुमाकै सङ्गीत तथा युवराज काफ्लेको शब्दमा तयार भएको हो। गीत सार्वजनिक भएलगत्तै युट्युबमा १२ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् भने टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन्।
सोही गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंको प्रत्यक्ष प्रस्तुतिले पनि थप आकर्षण सिर्जना गरेको थियो। चलचित्रसँगै यो गीत नेपाली सांगीतिक क्षेत्रमा ट्रेन्डिङको सूचीमा पर्न सफल भएको छ।
निर्माण कम्पनी ‘आर्टमाण्डू’ले पछिल्लो डिजिटल प्रविधिको उपयोग गर्दै चलचित्रका पात्रहरूलाई परिचय गराउने नयाँ शैली अवलम्बन गरेको छ। पोस्टर वा प्रेस विज्ञप्तिमा मात्र सीमित नरही, टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्सजस्ता माध्यममार्फत कलाकारहरूको दृश्य झलक सार्वजनिक गरिएको हो।
निर्देशक नवीन चौहानका अनुसार, “पछिल्लो समय दर्शकको ध्यान खिच्न प्रविधिसँगै अघि बढ्न जरुरी छ। छोटा भिडियोमार्फत् गरिएको पात्र परिचय प्रयास सफल भएको छ, जुन केही समयमै लाखौं दर्शकले हेरेर मन पराइसक्नुभएको छ।”
‘ऊनको स्वीटर’मा परीक्षा लिम्बु र एलेक्स पारसले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन्। यद्यपि, ‘काफ्ले’ गीतको भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरलाई देखाइएको छ।
निर्माताको भनाइमा, “हामीले सार्वजनिक गरेका झलकले दर्शकमा पात्रहरूप्रतिको जिज्ञासा र आकर्षण अझै बढाउने अपेक्षा गरेका छौं। यो सिर्जनात्मक यात्रामा दर्शकको साथले हामीलाई अझ बलियो बनाउनेछ।”
गीतको लोकप्रियतासँगै चलचित्रप्रतिको चासो झनै बढेको देखिन्छ। ट्रेन्डमा बसेको ‘काफ्ले’ गीतले ‘ऊनको स्वीटर’लाई प्रदर्शनअघि नै दर्शकबीच स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको छ।