क्राइम थ्रिलर ‘मैना’को घोषणा, भदौदेखि छायांकन सुरु


काठमाडौं। नयाँ नेपाली फिल्म ‘मैना’ को निर्माण घोषणा गरिएको छ। निर्माता राजेन्द्र ढकाल (राहुल) ले फिल्म निर्माणको घोषणा गर्दै थिम पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरले समाजको शान्त सतहभित्र लुकेको उथलपुथल झल्काउँछ, जसले यसलाई एक क्राइम थ्रिलर सिनेमाको संकेत दिएको छ।

फिल्मको निर्देशन चन्द्र कुमार भट्टराईले गर्दैछन्। एक दशकभन्दा बढी समय सहायक निर्देशनमा बिताएका भट्टराईको यो पहिलो निर्देशन हो। ‘समर लभ’, ‘मारुनी’, ‘राजा रानी’, ‘सेतो बाघ’ जस्ता चर्चित फिल्ममा सह-निर्देशकको अनुभव बोकेका भट्टराई ‘मैना’बाट निर्देशकको रूपमा डेब्यु गर्न लागेका हुन्।

गोविन्द मल्लको लेखनमा तयार हुने यो फिल्म सुस्मिता फिल्म्सको ब्यानरमा बन्नेछ। फिल्ममा राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको मुख्य लगानी रहनेछ भने रेनु शर्मा र सुस्मा खतिवडा सह-निर्माताको रूपमा जोडिएका छन्।

निर्माण टिमका अनुसार फिल्मको छायांकन भदौदेखि सुरु हुनेछ। कलाकार छनोटको काम जारी रहेको र चाँडै नाम सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए।

फिल्मको शीर्षक हेर्दा महिला पात्र मुख्य भूमिकामा हुने अनुमान गर्न सकिन्छ, तर यसबारेमा निर्माणपक्षले हाललाई चुप्पी साधेको छ। यस्तै, प्रदर्शन मिति पनि केही समयपछि मात्र सार्वजनिक गरिने बताइएको छ।