काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् । केहि समय अघि बोर्ड सदस्यको पधावदी सकिएर बोर्ड सदस्य पद रिक्त रहेको थियो।
२०४९ मा ‘अपमान’ फिल्मबाट यो क्षेत्रमा प्रवेश गरेका लोहनी फिल्म र टेलिभिजन कार्यक्रम अभिनय, निर्देशन र निर्माणमा सक्रिय छन् । ‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रम पनि बनाएका थिए । लोहनी निर्देशित पछिल्लो फिल्म ‘शुभ लभ’ केही वर्ष अगाडि प्रदर्शनमा आएको थियो ।
बोर्ड अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । बोर्डमा अझै एकजना सदस्यको पद रिक्त छ । अर्का सदस्य राजु खत्री क्षेत्रीको कार्यकाल १८ चैतमा सकिनेछ ।