‘कर्मा’ मा बोल्ड क्यारेक्टरमा प्रस्तुत हुँदै सरिता


काठमाडौं । अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् ।

अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’ मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ ।

आमाको चरित्र सम्झने बित्तिकै चलचित्रमा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन् । यो भाष्य ‘कर्मा’ले बदलदिने उनको भनाइ छ ।

सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको भनाइ छ । सौरभले आफूलाई आमा होइन क्यारेक्टर चाहिएको भनेर अफर गरेको उनले बताइन् ।

“उहाँ (निर्देशक सौरभ चौधरी) ले अफर गर्दाको यो लाइनले नै मलाई टच गरेको थियो,” उनले भनिन्, “चलचित्रमा आमा चाहिएको होइन क्यारेक्टर चाहिएको हो भन्नुभएको थियो । सिनेमामा पनि त्यस्तै छ ।”

आफूले अहिलेसम्म थुप्रै चलचित्रमा आमाको क्यारेक्टरमा काम गरे पनि ‘कर्मा’ मा भनेर फरक खालको चरित्र रहेको उनको दाबी छ । आफूेल चरित्रमा काम गर्न मन पराउने र ‘कर्मा’को आमाको क्यारेक्टर पनि त्यस्तै रहेको उनले बताइन् ।

“मैले अहिलेसम्म आमाको चरित्र धेरै गरेँ होला । तर, कर्मामा आमाको चरित्र मात्रै छैन,” उनी भन्छिन्, “यसमा आमासँग सँगै धेरै कुरा छ । यसमा निर्देशकले यो क्यारेक्टरलाई यसरी चलाउनुभयो, अहिलेसम्म चलेको आमाको ट्यागलाइन यो चलचित्र रिलिज भएपछि हट्नेछ ।”

‘कर्मा’मा सरिता गिरी विपीन कार्कीको आमाको भूमिकामा छिन् । चलचित्रमा विपीन र सरितासँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको पनि अभिनय रहेको छ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन हुनेछ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

यो चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स , उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’ मा वसन्त लम्सालको लगानी रहेको छ ।