काठमाडौं । चलचित्र ‘लाज शरणम्’ को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा छिटो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको छ ।
२४ घण्टा नपुग्दै ‘नेपाल हाँसेको’ बोलको गीत युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको छ । भ्युज पनि यो गीतले उल्लेख्य पाएको छ ।
यो गीत नेपाल बाहेक अस्ट्रेलियामा, युएई, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत रहेको छ । ‘नेपाल हाँसेको’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर छ । गीतले विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ । सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ ।
चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।
‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।
‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।