‘पनौतीका केही जात्रापर्वहरु’ को तेस्रो संस्करण लोकार्पण 



काठमाडौँ। साहित्यकार एवं संस्कृतिकर्मी सुर्यप्रसाद लाकोजूद्धारा लिखित ‘पनौतीका केही जात्रापर्वहरु’ को तेस्रो संस्करण लोकार्पण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयन संघिय मन्त्री बद्रिप्रसाद पाण्डेले उक्त पुस्तकको लोकार्पण गर्दै संस्कृति र प्रकृतिमा नेपाल सम्पन्न रहेकोले नेपाललाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताए ।

सास्कृतिक सम्पदालाई जीवन्त दिनका लागि लोकार्पित पुस्तक महत्वपुर्ण हुने बताउँदै मन्त्री पाण्डेले पुस्तकमा पनौती नगरपालिका भित्र प्रचलनमा रहेका र लोप भइसकेका विभिन्न जात्रापर्वहरुको बारेमा उल्लेख गरेर संस्थागत गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । पुस्तकलाई पनौतीको परिचय र ऐतिहासिक पृष्ठभूमि, पनौतीका केही जात्राहरु, पनौतीका केही उल्लेखनीय पर्वहरु, पनौतीका प्रचलित केही उल्लेखनीय नाचहरु र हाल प्रचलनमा नरहेका केहि जात्रापर्वहरु गरि पाँच खण्डमा विभाजन गरिएको छ ।

पनौती नगरपालिकाका समालोचक तथा चिन्तक मधु आचार्यले पुस्तकमा संस्कृति र जात्रापर्वको सामान्य वर्णन मात्र नरहेको त्यसको वैज्ञानिक विश्लेषण पनि रहेकोले पुस्तक पठनीय रहेको बताए । कार्यक्रममा पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

सप्तलाल तथा श्रीराम स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी महेश कर्माचार्य, प्रेमबहादुर महाजू र इन्द्रकुमारी खड्कालाई सम्मान गरिएको थियो ।