काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा आक्रामक व्यापार गरिरहेको छ । सिनेमाले नेपालमा बम्पर व्यापार गरेको खबरले उत्साहित बलिउड कलाकार प्रदीप सिंह रावत नेपाल आउने भएका छन् ।
आज शनिबार राती नेपाल आइपुग्न लागेका गजनी भिलेन प्रदीपले भोली आइताबार काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको निर्देशक चन्द्र पन्तले बताए । सिनेमा ‘ह्रस्व दीर्घ’मा उनले अभिनेत्री नीता ढुंगानाको पिताको रुपमा अभिनय गरेका छन् । उनको अभिनयलाई दर्शकले निकै रुचाएको खबर पाएसँगै उनी नेपाली दर्शकसँग साक्षात्कार गर्न उत्साहित रहेको निर्माण टिमले जानकारी दिएको हो । उनी यसअघि यो सिनेमाको छायांकनका लागि नेपालमा आएका थिए ।
नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।
सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।