‘ह्रस्व दीर्घ’ ज्योतिष र धर्मको कथाभन्दा बाहिरको यात्रा : हरिहर अधिकारी


काठमाडौं। आगामी कार्तिक ३० गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतीक्षित सिनेमा ‘ह्रस्व दीर्घ’ निर्माण टिमले यतिबेला प्रचार-प्रसारलाई तिब्रता दिएको छ। निर्देशक चन्द्र पन्त, निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, अभिनेता एवं कथाकार हरिहर अधिकारी, र अभिनेत्री विपना थापालगायतको टोली मिडिया र प्रचारका कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुँदै आएका छन्।

हरिहर अधिकारी आफैं एक ज्योतिष भएका कारण धेरैलाई जिज्ञासा थियो कि ‘ह्रस्व दीर्घ’मा ज्योतिष शास्त्र र धर्मको प्रभाव कति छ? पत्रकार भेटघाटमा उनले स्पष्ट पार्दै भने, “यो फिल्म ज्योतिष र धर्ममाथि आधारित छैन। मेरो कामले गर्दा धेरैको जीवनका वास्तविक कथा सुन्ने अवसर पाएको छु। यसै कारण केही सांस्कृतिक तत्त्व समावेश भएको होला, तर कथा ज्योतिष र धर्ममात्रैमा सीमित छैन।”

हरिहरले ‘ह्रस्व दीर्घ’को छायांकन ४३ दिनमा सम्पन्न भएको र यो काम ज्योतिषीय सिद्धान्तअनुसार शुभ समय मिलाएर सुरु गरेको बताए। “हामीले राम्रो साइतमा छायांकन सुरु गरेका थियौं र कुनै ठूला अवरोध बिना पूरा गर्न सफल भयौं,” उनले भने। यद्यपि, उनले फिल्मको प्रदर्शनलाई ज्योतिषीय प्रभावसँग जोड्न चाहेनन्, “प्रदर्शनका लागि ज्योतिष शास्त्रको आधार छैन।”

फिल्ममा बहुप्रतिभाशाली कलाकारको जमघट

फिल्ममा दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता ब्रह्मानन्दम र सुनिल वर्मालगायत नेपाली सिने जगतका स्थापित अनुहारहरू छन्। ‘ह्रस्व दीर्घ’ हरिहर अधिकारीको दोस्रो फिल्म हो। “शुरुमा ठूला कलाकारहरूसँग काम गर्दा डर थियो तर सबैको सहयोगले मलाई सहज बनायो,” हरिहरले आफ्नो अनुभव बाँडे।

नीता फिल्मस्को प्रस्तुतिमा बनेको ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, र सरोज खनालजस्ता कलाकार छन्। फिल्मको छायांकन कवीरलालले गरेका हुन् र निर्देशन चन्द्र पन्तको रहेको छ, जसका लागि यो नेपाली सिने क्षेत्रमा डेब्यु निर्देशन हो।

‘ह्रस्व दीर्घ’को विविधता र बहुभाषी प्रदर्शन

यो सिनेमा नेपाली, तेलुगु, र हिन्दी गरी तीन भाषामा प्रदर्शन हुँदैछ। नेपाली फिल्म उद्योगलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ बनाइएको यो फिल्मलाई निर्देशक पन्तले एक महत्त्वपूर्ण परियोजनाको रूपमा प्रस्तुत गरेका छन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.