‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने


काठमाडौँ। अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।

सिनेमा विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री नीता ढुंगानाले बताइन् । सिनेमाको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनिका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए ।

नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताए । हाम्रो सिनेमाका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं । भारतीय वितरकले पनि सिनेमाप्रति राम्रो चासो देखाएको हरिहरले बताए ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।