काठमाडौं । असोज ११ गते शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सानो संसार’को निर्माण टिमले सोमबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो । मध्यमवर्गीय परिवारको कथालाई उठाएको सिनेमालाई निर्माता अर्जुन कुमारले निर्माण गरेका हुन् ।
यो सिनेमा पहिले वेब सिरिजको रुपमा निर्माण गरिएको थियो । युट्युबमा चार भाग प्रसारण समेत भइसकेको थियो । यो सिरिज हेरेपछि सिनेमा निर्माण गर्नुपर्छ भनेर निर्माण टिमलाई अर्जुनले १२ एपिसोड मध्ये बाँकी ८ एपिसोडको प्रसारण रोक्न लगाए । उनी यो सिनेमाको कथावस्तु र निर्माणप्रति सन्तुष्ट हुनका साथै दर्शकलाई मन पर्नेमा ढुक्क समेत देखिन्छन् ।
यसअघि आफूले निर्माण गरेका सिनेमामध्ये ‘सानो संसार’ उत्कृष्ट रहेको दाबी निर्माता अर्जुनको छ । ‘मैले अहिलेसम्म जति सिनेमा बनाएँ, त्यसमध्येको उत्कृष्ट सिनेमामा यही हो,’ उनले पत्रकार भेटघाट कार्यक्रममा भने । यसअघि उनले कुनै सिनेमाको प्रिमियर गरेका थिएनन् । ‘सानो संसार’को भने बुधबार प्रिमियर शो समेत राखिएको छ ।
‘सानो संसार’की मुख्य कलाकार सीतादेवी तिमल्सिनालाई पनि सिनेमा हेर्दा दर्शकले आफूलाई पाउँछन् भन्ने बिश्वास छ । सिनेमा मध्यम वर्गीय परिवारको कथा उठाउनुका साथै नेपालमा यही वर्गको जनसंख्या धेरै रहेकाले कुनै न कुनै पार्टले आफैलाई पाएको महसुस गराउँछ । मध्यम वर्गीय परिवारको आवश्यकता कस्ता हुन्छन् र त्यो पूरा गर्ने क्रममा आउने समस्या सिनेमाले देखाएको छ ।
यो सिनेमाबाट अभिनयमा डेव्यु गरेकी अभिनेत्री अन्जसा रिजाल ‘सानो संसार’ हरेक घरमा मिल्ने कथा रहेको बताउँछिन् । ‘मेरो क्यारेक्टरले धेरै उद्देश्य बोकेको छ । ऊ बाहिर जान चाहन्छ । अहिलेको समयमा बाहिर जाने प्रायः युवाको सपना हुन्छ । त्यसको प्रतिनिधित्व सिनेमामा मेरो पात्रले गरेको छ । सिनेमाको कथा र पात्रमा आफ्नोपन छ’, उनी आफ्नो चरित्रको बारेमा भन्छिन् ।
यही सिनेमाबाट डेव्यु गरेकी अर्की अभिनेत्री अनु दाहाललाई आफ्नो चरित्रमा अहिलेको युवापुस्ताले आफैलाई पाउने बताइन् । ‘सिनेमामा मेरो क्यारेक्टर परिवारको जेठी छोरी हो । यो परिवासमा छोरा पनि छ तर ऊ हराएको हुन्छ । त्यसपछि मेरो क्यारेक्टरले परिवारको जिम्मेवारी उठाएपछि बुबाआमा र सन्तानबीच भिन्नता आउँछ’, उनी भन्छिन्, ‘सिनेमामा काम गर्दा यो कुरा म आफैंले पनि महसुस गरेको हुँ । मजस्तो धेरै युवाले त्यो पात्रलाई महसुस गर्नुहुन्छ ।’
सिनेमामा राज शर्मा पंगेनी र शिशिर सिवाकोटीको पनि मुख्य भुमिका रहेको छ । उनीहरुले पनि आफ्नो चरित्रलाई दर्शकले रुचाउने विश्वास व्यक्त गरेका छन् । सिनेमाका मुख्य अभिनेता शर्माले लामो समयदेखि आफु यो क्षेत्रमा भएपनि दर्शकले चिन्न नसकेकाले यो सिनेमाले चिनाउनेमा आशावादी देखिए । यसअघि पनि केही सिनेमामा काम गरेको थिए । तर, दर्शकले नोटिस गर्नु भएन । ‘सानो संसार’मा आफु क्यारेक्टर अनुसार सही पात्र रहेको विश्वास निर्माता र निर्देशकलाई भएकाले पनि आफुमा केहीहदसम्म आशा जगाएको बताउँछन् ।
पारिवारिक कथावस्तुमा निर्माण भएको सिनेमामा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भुमिका रहेको छ । सिनेमामा सीताका अलवा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतमको अभिनय रहेको छ । यी सवै कलाकारले नेपाली रजतपटमा डेव्यु गर्दैछन् ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । राजधानी मिडिया र प्रिन्सेस मूभिजले सिनेमालाई संयुक्तरुपमा प्रदर्शन गर्नेछन् ।
सिद्धार्थ पुडार्सनीले सिनेमालाई निर्देशन गरेका हुन् । यही सिनेमाबाट उनले लेखन तथा निर्देशनमा डेव्यु गर्दैछन् । उनलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।